काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुन थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत ‘अनुत्पादक क्षेत्र’ मानिँदै आएको सवारी र घरजग्गा कर्जामा लचिलोपना देखाएको छ । अहिले पनि बैंक तथा वित्तीय संस्थामा १ खर्ब १५ अर्बभन्दा धेरै अधिक तरलता छ ।
बैंकहरूबाट गइरहेको कर्जामा मात्रै ४ दशमलव ६ प्रतिशतले मात्र कर्जा वृद्धि भइरहेको अवस्था छ । अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकले सवारी र घरजग्गा कर्जालाई खुकुलो बनाई यसको सीमा घटाएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–०८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत कायम गरेको छ ।
यो प्रावधानपश्चात ग्राहकले आफ्नो आम्दानीको ७० प्रतिशत रकम किस्ता तिर्नसक्ने गरेर ऋण पाउनेछन् । कर चुक्ता प्रमाण पेस गरेका आधारमा यस अनुपातमा कर्जा पाउने भएको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । यसअघि आम्दानीको ५० प्रतिशत रकम मात्र घरजग्गा कर्जामा तिर्न सकिने प्रावधान थियो ।
यसैगरी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १ सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई सय प्रतिशत कायम गरिएको छ । चालू आव सकिन दुई महिना बाँकी रहँदा ल्याएको नीतिले हाल सुस्त रहेको अर्थतन्त्रलाई केही भए पनि चलायमान बनाउने र आगामी मौद्रिक नीति केही लचिलो हुने संकेत राष्ट्र बैंकले दिएको छ ।
नेपाल राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी कर्जाको जोखिमभार, असल कर्जामा बैंकहरूले गर्नुपर्ने कर्जा नोक्सानीको व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि हाल १ दशमलव २५ प्रतिशत कर्जा नोक्सानी राख्नु परिरहेकामा १ दशमलव २० प्रतिशत राखे पुग्नेगरी व्यवस्था भएको छ । यसले गर्दा बैंकहरूको नाफा बढ्ने सम्भावना वढेको छ । कोभिडको समयमा राष्ट्र बैंकले १ प्रतिशत हाराहारी रहेको यस्तो व्यवस्थालाई वृद्धि गरेर १ दशमलव ३ प्रतिशत पु¥याएको थियो । आजको राजधानी दैनिकबाट