माधव नेपाल भन्छन्-‘पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रूपमा देखापर्यो’

16.5k Shares

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन्।मंगलबार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका हुन्। उनले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरूलाई कसैले विश्वास नगर्ने बताए।

उनले आफूहरूले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। अध्यक्ष नेपालले आफूहरूको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताए। पार्टीभित्रको असन्तुष्टिहरू छलफल गरेर टुंगो लगाउन सकिने उनको भनाई छ। उनले एकीकृत समाजवादीलाई धराशयी पार्न खोज्नेहरूले त्यस्तो हल्ला चलाएको आरोपसमेत लगाएका छन्।

उनले भने,’हाम्रो पार्टीभित्र पनि, कम्युनिस्ट आन्दोलन भित्रपनि, नेपालको राजनीतिमा पनि भ्रष्टिकरणको प्रवृत्ति, पदलोलुपताको प्रवृत्ति, पदको निम्ति मरिहत्ते गर्ने प्रवृत्ति बडो खतरनाक रुपमा देखापरेको छ। हाम्रो पार्टीले कुन नारा अगाडी सार्दाखेरी जनतामा लोकप्रिय हुन सकिन्छ भन्ने विचार गर्नुपर्ने आवश्यकता छ। कुन विषयलाई अगाडी सार्दाखेरी सबैको मन छुन सक्दछ भन्ने कुरामा ध्यान पुर्याउनु पर्दछ।’

अध्यक्ष नेपालले राजनीतिक समिकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको बताए। उनले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका बताएका हुन। उनले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरू लागिरहेका भन्दै त्यसप्रति आफूहरू सचेत हुनुपर्ने बताएका छन्। उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गरे।

साथै, उनले वर्तमान सत्ता समिकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे। अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरूसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिए।

 
सम्बन्धित समाचार