काठमाडौं । शक्तिशाली भूकम्प गएको ९ वर्ष पुग्दा पनि विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका ७ सम्पदाले पूर्णता पाउन सकेका छैनन् । केही सम्पदा स्थानीय निकायका कारण त केही ठेक्का विवाद र उपभोक्ता समितिमा देखिएको समस्याका कारण पूरा हुन सकेका छैनन् । त्यसमध्ये एउटा सम्पदाको विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।
२०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण हनुमानढोका, भक्तपुर र पाटन दरबारमा ७५ मध्ये ५० ध्वस्त र बाँकी आंशिक क्षति भएका थिए। तीमध्ये हनुमानढोका परिसरका १८ पूर्ण र ११ वटामा आंशिक क्षति पुगेको थियो। पाटनमा २७ सम्पदामध्ये धेरैजसो पूर्ण र केहीमा आंशिक क्षति भएको थियो । भक्तपुरमा करिब ३५ सम्पदामा क्षति पुगेको थियो ।
पुरातत्व विभागका प्रवक्ता वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले विश्वसम्पदा क्षेत्रभित्र रहेका केहीबाहेक सबै सम्पदा पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो । ‘केही सम्पदा पुनर्निर्माण गर्न विवाद छ, तीबाहेक अधिकांश पुनर्निर्माण सम्पन्न भइसकेका छन्’ –प्रवक्ता कुँवरले भन्नुभयो ।
उहाँका अनुसार हनुमानढोकाको नेपाल संस्कृत विश्वविद्यालय र आदर्श स्कुलले भोगचलन गरेको भवन काठमाडौं महानगरले बनाउने तयारी गरेको छ । आगम छें धार्मिक कारणले विवाद भएको थियो, अहिले समाधान भइसकेको छ।
कुमारीघरमा धेरै क्षति भएको छैन उक्त भवन कामपाले बनाउने तयारी गरिरहेको छ। भूकम्प अघि नै पुनर्निर्माण सम्पन्न भइसकेको हनुमानढोका परिसरको नारायण मन्दिर वैशाख १२ को भूकम्पले ध्वस्त बनाएपछि पुरानै ठेकेदारको भुक्तानी नगरी अहिले कसले बनाउने भन्ने विषयमा विवाद छ।
हनुमानढोका दरबार क्षेत्र विकास समितिका प्रमुख सन्दीप खनालले हनुमानढोका परिसरमा ध्वस्त र क्षति पुगेका २८ मध्ये हाल एकाधबाहेक सबै पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो। भूकम्पले ध्वस्त सम्पदामध्ये हनुमानढोका प्रहरी कार्यालय पुनर्निर्माण हुन सकेको छैन । सो भवनको स्वामित्वको विषयमा केही समस्या भएपछि उक्त भवन पुनर्निर्माण हुन नसकेको हो।