काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपियाँ बराबर भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि भ्रष्टाचारमा मुद्दा दायर गरेको छ। अख्तियारले पौडेलले आर्जन गरेको सो अकुत सम्पत्ति जफत र असूलउपर गर्न माग दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा आफैंले बोलपत्रहरूको कोटेसन बनाई योजनाबद्ध ढङ्गले आफैंले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्लूडीएन प्रालि, ओबीसीआई, म्याक्स, नेक्स्ट जेन सोलुसनलगायत कम्पनीहरूसँग ठेक्का सम्झौता गरेर त्यसवापत करोडौंको कमिसन बुझ्ने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।
पौडेलले स्वदेशी आपूर्तिकर्ताहरूले सोही अवधिमा विदेशी आपूर्तिकर्ता बेनकोटेक र इन्स्टासेफजस्ता कम्पनीहरूसँग मोटो रकम मोलमोलाई गरी सिंगापुरमै रहेको आफ्नो खाता राख्न लगाएको पाइएको छ। ती दुई विदेशी आपूर्तिकर्ताले पौडेलको सिंगापुरस्थित युयोबी बैंकमा रहेको खाता नम्बर ३८०–९४८३१०८ मा पटक–पटक गरी ९ करोड ३० लाख ९७ हजार ७ सय २२ रुपियाँ तथा पौडेलकै सिंगापुरमा रहेको युनाइटेड ओभरसिज बैंकमा ४ करोडभन्दा बढी रकम जम्मा भएको पाइएको छ।
पौडेलको युयोबी बैंकमा ११ पटकसम्म रकम जम्मा भएको थियो भने युनाइटेड ओभरसिज बैंकमा ९ पटकसम्म रकम जम्मा भएको थियो । पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएका बेला २०७५ देखि २०७९ सम्मको अवधिमा ४ अर्बभन्दा बढीको ठेक्का लगाएका थिए । सो ठेक्का लगाएवापत स्वदेशी र विदेशी आपूर्तिकर्ताले उनलाई करोडौं रुपियाँ कमिसन दिएको अख्तियारले अनुसन्धानले फेला पारेको हो । आजको नेपाल समाचारपत्र दैनिकबाट