थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया

15.5k Shares

टीकापुर । मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उहाँका दुई छोरा र दुई पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन् ।

कल्ठीका माइला छोरा छिटकलाल, कान्छा छोरा छुकुन्वा चौधरी र जेठा छोरा जितबहादुरका नाति वसन्त टीकापुर नगरपालिका–१, वनगाउँ बिचपुरुवास्थित आआफ्नै घरमा काजकिरिया बस्नुभएको छ । अर्का नातेदार दिपेश चौधरी उत्तरपुरुवामा काजकिरियामा हुनुहुन्छ । 

कल्ठीका तीन छोरा २०४५ सालमा छुट्टिई भिन्न हुनुभएको थियो । अंशबन्डासँगै दाजुभाइ छुट्टिए र देउता पनि बाँडिए । अलग अलग देवता भइसकेपछि थारू समुदायको चलन अनुसार मृत्युकर्म पनि अलग अलग गर्नुपरेको गाउँका अगुवा मीनबहादुर चौधरी बताउनुहुन्छ ।

“घर फुटेपछि जेठो छोराले देवता पाउने र बाँकीलाई जेठोले फलामको टुक्रा दिनु पर्छ । यही फलामको टुक्राबाट बनेको कामा (त्रिशूल) मा मैयाँ (देवी) बनाई स्थापना गरेपछि देवता छुट्टिएको मानिन्छ,’’ उहाँले भन्नुभयो । 

यसपछि हरेक परिवारले आफ्ना देवता छुट्याइसकेपछि बाआमाको मृत्यु भएमा अलग अलग काजकिरिया गर्नुपर्ने चलन रहेको स्थानीय ज्ञानबहादुर चौधरी बताउनुहुन्छ । यही चलनका कारण थारू समुदायमा बाआमा जीवित हुँदासम्म जति भाइ भए पनि सगोलमै बस्ने चलन छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार