३ अर्बको अवैध वस्तु ल्याउने गिरोहलाई कहिले हुन्छ कारबाही ?

17.3k Shares

काठमाडौं । वीरगञ्जको भन्सारस्थित सुख्खा बन्दरगाहमा ३ अर्ब रुपियाँभन्दा बढीको अवैध वस्तुहरू बरामद भएपछि भन्सार विभागले त्यसको लिलामी प्रक्रिया थालेको छ।

भन्सार विभागले बरामद भएका ३ अर्बभन्दा बढी मूल्यका सामानहरू लिलाम गर्न भन्दै दोस्रोपटक गत ३० फागुनमा लिलाम बिक्रीसम्बन्धी सूचना जारी गरेको हो।

यसअघि भन्सारले गत १३ फागुनमा पहिलोपटक लिलामको सूचना जारी गरेको थियो। तर, त्यसपटक लिलामी प्रक्रिया सफल नभएपछि भन्सारले सामानको मूल्य केही घटाएर दोस्रोपटक सूचना आह्वान गरेको हो ।

भन्सार विभागले सुख्खा बन्दरगाहमा सेटिङमा अवैध वस्तु ल्याउने व्यक्तिहरूको बारेमा भने कुनै पहिचान गर्न सकेको छैन। सेटिङकर्ताहरूले सेटिङमार्फत् ल्याएको ३ अर्ब रुपियाँको सामान फुत्काउने सेटिङ भत्किएपछि अलपत्र परेको थियो।

त्यसरी अलपत्र परेका वस्तुहरूको भन्सारले लिलाम प्रक्रिया थाले पनि सेटिङ गरेर अवैध सामानहरू ल्याउने को हुन् भन्ने बारेमा भने विभागले अहिलेसम्म खासै खोजतलास गर्न सकेको छैन। भन्सार विभागका महािनर्देशक शोभाकान्त पौडेलले भने अवैध रूपमा ल्याइएका ३ अर्बभन्दा बढीका सामानहरू बरामद गरेर लिलाम प्रक्रिया थालिएको र त्यससँगै त्यस्ता सामानहरू ल्याउनेको पनि खोजतलास थालिएको बताउनुभयो ।

अवैध सामानहरू ल्याउनेका बारेमा विभागले छानबिन समिति नै बनाएर छानबिन गरिरहेको जानकारी दिँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हाम्रो छानबिन समितिले गहिरो छानबिन गरिरहेको छ, अवैध सामानहरू ल्याउनेहरू ढिलो चाँडो कानुनी दायरामा आउनेछन्।’

यद्यपि, छानबिन समितिले अवैध सामानहरू ल्याउनेहरूको बारेको छानबिनलाई तीव्रता दिन नसकेको बताइएको छ। स्रोतका अनुसार ३ अर्बभन्दा बढीका अवैध सामानहरू ल्याउनेमा ठूलै गिरोह सक्रिय रहँदै आएको छ।

सो बन्दरगाहमार्फत् कर्मचारी, बिचौलिया र उच्च राजनीतिक नेतृत्वको सेटिङमा लामो समयदेखि प्रतिबन्धित र अवैध सामानहरू ल्याउने क्रम जारी रहँदै आएको पनि स्रोतको दाबी छ । स्रोतका अनुसार सो गिरोहले सेटिङ गरी ती समानहरू बाहिर निकाल्ने गरेका थिए । यसअघि सो गिरोहले यसरी नै अर्बौं मूल्यका वस्तुहरू ल्याएर बाहिर निकाल्न सफल भएको स्रोतको दाबी छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार