काठमाडौं । नेकपाको स्पष्टरुपमा दुई धार भएपछि एकआपसमा पोल खोलाखोल गरी करिब पार्टी विभाजनतिर गइसकेको अवस्थामा तल्लो स्तरका कार्यकर्ता तथा नेताहरु पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लाग्ने गरेको छ ।
स्थानीय तह निर्वाचनमा साविक नेकपा माओवादीबाट वडाध्यक्षका उम्मेदवार भएका २ नेतासहित सयौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–१ का माओवादीका उम्मेदवार अर्जुन सापकोटा र वडा नम्बर ५ का दावा तेम्बो शेर्पा आईतबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका–५ ले आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाको पेलान र झमेला सहन नसकेर आफूहरू कांग्रेसमा प्रवेश गरेको नेता सापकोटाले बताए । नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले दुवै नेतालाई पार्टीमा प्रवेश गराएका छन् ।
‘कम्युनिस्टमा बसेर रिझाउन सकिएन १८ वर्षसम्ममा पनि,’ पार्टी प्रवेशलगत्तै सदस्यता समेत लिएका सापकोटाले भने, ‘पेलानमा परियो । कम्युनिस्टले विकास पनि गर्न सक्दैन । विकासका लागि कांग्रेसमा प्रवेश गरेको हुँ ।’
केन्द्रीय सदस्य बस्नेतको विकासदेखि प्रभावित भएको र कम्युनिस्टमा जालझेल, गुट उपगुट, व्यवसायीले पैसा दिनुपर्ने भएकाले कम्युनिस्टहरू कांग्रेसमा आएका धारणा राखेका छन् ।
सो पार्टी प्रबेश कार्यक्रम तरुण बिभाग केन्द्रिय सदस्य भोटेकोशी गाउँपालिका सभापति पासाङ नोर्बु लामा विशेष पहल गरेका थिए भने पुर्ब मन्त्री बस्नेतले लामाको निकै प्रशंसा गरेका थिए ।