काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा लिने गरी सम्झौता गर्ने वृहस्पति विद्या सदनका सबै पदाधिकारीसँग बयान लिएको छ ।
बालमिन्दरकी तत्कालीन अध्यक्ष रिता सिंहलाई प्रभावमा पारी ५२ वर्षसम्म पूरक सम्झौता गर्ने वृहस्पति विद्या सदनका तत्कालीन पदाधिकाबरीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्ज्वलराज जोशी, मिनुकुमारी जोशीलगायतसँग बयान लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ।
अख्तियार स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘वृहस्पति विद्या सदनका तत्कालीन सबै पदाधिकारीसँग बयान भइसकेको छ, अब छिटै गैरकानुनी सम्झौता रद्ध हुने गरी आवश्यक निर्णय होला।’
स्रोतका अनुसार बालसंठनकी तत्कालीन अध्यक्ष रिता सिंहलगायतका पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग २०७२ सालमा पूरक सम्झौताका नाममा बालमन्दिरको २८ रोपनी ५ आना जग्गा वि.सं. २१३२ सम्मका लागि प्रयोग गर्न दिनेगरी सम्झौता गरेका थिए।
त्यसरी बालसंगठनले हचुवाका आधारमा वृहस्पति विद्या सदनलाई ५२ वर्षसम्म जग्गा प्रयोग गर्न दिँदा ठूलो चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले यस विषयमा विस्तृत अनुसन्धान गर्दै आइरहेको हो । यसै क्रममा अख्तियारले बालमन्दिरको जग्गा अवैध रूपमा ५२ वर्षसम्म हत्याउन भूमिका खेल्ने वृहस्पति विद्या सदनका पदाधिकारीसँग बयान लिएको हो। आजको नेपाल समाचारपत्र दैनिकबाट