काठमाडौं– भरतपुर भ्रमण वर्ष प्रचार-प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी छन् ।
प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरिन् ।
सो अवसरमा नेपाली राजदूतहरूले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताएका थिए। नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाए।