काठमाडौं- सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू किसानहरुले हाललाई स्थगन गरेका छन्।
केन्द्रीय दुग्ध सहकारी संघ नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समयदेखि रोकेपछि किसान आन्दोलित भएका थिए।
दूध बिक्री गरेको रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम सुरु भएका थिए।
ससद्देखि सडकसम्म आवाज उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल भुक्तानीको व्यवस्था मिलाउन निर्देशन गरेका थिए।
कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबीच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति भएको हो।
सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दूध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत २१ सम्म गरिसक्ने भनिएको छ।
त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ।