आउने सन्तानका लागि पनि देश सुरक्षित हुन जरुरी

3.3k Shares
बसन्त कुवँर
समग्र पुराना दल र कार्यकर्ताहरूसँग होइन, पार्टीका लागि जीवन समर्पित गरेका ती दलका अन्य क्याडरहरूलाई कहिल्यै नेतृत्वमा आउनै नदिने र साम, दाम, दण्ड, भेदका साथ वर्षौँसम्म स्वयं अवकाश लिनुपर्ने उमेरमा समेत पद नछोडी पटक–पटक पदमा टिकी रहने, पार्टीभित्रै पनि अस्वस्थ गुट बनाइ अन्य दलहरूसँग समेत अप्राकृतिक गठबन्धन गरी शासनमा जान नछोड्ने तर मुलुकको गरीबी र महँगी हटाउन भने नसक्ने, शीर्षस्थ भनिने नेताहरूसँग चाहिँ अहिले नेपाली जनता बेस्सरी नै रिसाएका छन्।
 
यदि जेन्जी आन्दोलनपछि नै भए पनि शासनच्युत भए पश्चात् वा कुटपिट र क्षति खाए पश्चात् नै भए पनि ती शीर्षस्थ भनिने नेताहरूले आफूले होल्ड गरेको पदलाई प्राकृतिक रूपमा छोडी सम्मानित रूपमा सक्रिय राजनीतिबाट अलि पर बसेको भए पनि पार्टीको ड्यामेज अलि कम हुन्थ्यो होला, तर त्यसो हुन सकेन। मतलब, आउने चुनावमा यिनै शीर्षस्थ भनिएका नेताहरूका कारण ती दलहरूले ठुलै क्षति र असफलता व्यहोर्ने निश्चित देखिन्छ।
 
पुराना दलहरूका शीर्षस्थ भनिनेहरूकै कमजोरी र अनैतिक व्यवहारका कारण अब आउने चुनावबाट देशका जनताले नयाँ शक्तिहरूलाई शासनमा लैजानुपर्ने बाध्यात्मक अवस्था आयो। ती पुराना दलहरूका पार्टी पंक्तिका लाखौँ इमानदार र जीवन समर्पित गरेका कार्यकर्ताहरू यस पटक आफ्नै शीर्षस्थ भनिने नेताहरूको कमजोरी र पदलोलुपताका कारण अधिकांश स्थानमा नराम्ररी हार्ने अवस्था देखिन्छ। अझ उनीहरूले मौका पाउँदा पनि नेतृत्व परिवर्तन गर्न नसक्नु र नचाहनु यस पटक उनीहरूका लागि थप आत्मघाती कदम साबित हुनेछ।
 
अब आयो नयाँ शक्तिहरूको कुरा, जसमा मुलुक हाँकेको अनुभव छैन र विभिन्न सोसल मिडियाबाट लोकप्रिय भएका टाउकाहरू एक स्थानमा आइ सामूहिक रूपमा काम गरी पहिलो स्टेपमा चुनाव जिती दोस्रो स्टेपमा शासनमा जाँदा, शासनमा जान आफ्ना–आफ्ना गुटका बार्गेनिङ तत्कालै सुरु भई त्यहाँ पनि शासन चलाउन र गुटहरूलाई मिलाएर राख्न हम्मे–हम्मे पर्ने नै छ, र पुराना स्थापित शक्तिहरूले सजिलै काम गर्न पनि दिने छैनन्। अझ यस्तोमा शासनमा डर लाग्दो कुरा के हुन्छ भने नयाँहरूले सस्तो लोकप्रियताका लागि उटपट्याङ कारबाही र निर्णयहरू गरी पुरै देशको शान्ति, सुरक्षा र विकासको माहोल बिगार्न मात्र होइन, ध्वस्त पार्न पनि सक्छन्, जसरी युक्रेनले अहिले क्षति भोगिरहेको छ, बंगलादेश र श्रीलंकाले भोगिरहेको छ।
 
यस्तो समयमा नेपालका बौद्धिक र निष्पक्ष विद्वान्, अनि मुलुकका हित चाहने जो–कोही सामाजिक कार्यकर्ता र विश्लेषकहरूको काम हुन्छ—“सबैलाई सतर्क बनाउने”, किनकि यो सतर्कता आदेशमा काम गर्ने कार्यकर्ता र जागिर जोगाउन जे–जस्तो आदेश पनि मान्ने सरकारी कर्मचारी, वा विदेशी एजेन्टबाट हुन सक्तैन। उनीहरूको नेपालबाट निश्चित उद्देश्य पूरा गर्नु पर्ने, ह्विप मान्नु पर्ने देखि जागिरको रक्षा गर्नु पर्ने सम्मको बाध्यता हुन्छ।
 
दलको विजय वा शासन क्षणिक हुन्छ तर देश क्षणिक हुँदैन, जसलाई एक पुस्ताले अर्को नयाँ पुस्तालाई पहिलेको भन्दा सम्पन्न बनाउँदै–बनाउँदै हस्तान्तरण गर्नु पर्ने हुन्छ। देशका सर्वोच्च पदहरूमा गलत शासकहरू पुग्दा नसोंचेका संकटहरू आइ नै रहन्छन्, जसलाई निष्पक्ष राष्ट्रप्रेमीहरूले फेरि–फेरि ट्र्याकमा ल्याइ रहनु पर्छ, नत्र हाम्रै आउने पुस्ताहरूले युद्ध र आतंकवादका साथै अझ चरम गरीबी व्यहोर्नु पर्ने हुन्छ। हाम्रै आउने सन्तानहरूकै लागि पनि देश सुरक्षित राख्नु पर्छ।
 
पूर्व एसएसपी
सम्बन्धित समाचार