विद्युतीय गाडीमा आकर्षण,सात महिनामा १८ अर्बको आयात

19.2k Shares

काठमाडौँ, फागुन २० गते । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । 

बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो । 

गत वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपियाँभन्दा बढीको आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा भने उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् । 

रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात (साउन–माघ) महिनामा सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् । कार्यालयका अनुसार चालु आवको सात महिनामा रसुवा नाकाबाट ३२ अर्ब ९६ करोड २८ लाख रुपियाँको सामान आयात भएको छ । जसमा सबभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । कार्यालयका प्रमुख रामप्रसाद पाठकले विद्युतीय गाडीको प्रयोग प्रवर्धन गर्ने सरकारको नीतिको कारणले गर्दा पनि आयातमा वृद्धि भएको जानकारी दिनुुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार