काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् ।
सिन्धुपाल्चोकका नवराज तामाङ बाबुको क्यान्सरको उपचारका लागि केही दिनअघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा हुनुहुन्छ । उहाँले राज्यले एक लाख रुपियाँ बराबरको औषधी निःशुल्क पाउनुपर्ने व्यवस्था रहे पनि चिकित्सकले सिफारिस गरेका औषधी अस्पतालको फार्मेसीमा नपाइने गरेको गुनासो गर्नुभयो ।
उहाँले चिकित्सकले १० हजार रुपियाँ बराबरका औषधी सिफारिस गरिदिएको तर अस्पताल फार्मेसीबाट पाँच सय रुपियाँ बराबरको औषधी पनि नपाइएकाले बिरामीले महँगोमा औषधी किन्नुपरेको बताउँदै थप्नुभयो, “डाक्टरले नौ किसिमका औषधी लेखेर दिएका छन् तर फार्मेसीमा दुई प्रकारका मात्र उपलब्ध भए । बाँकी बाहिरबाट किन्नुपर्ने भयो ।”
ताप्लेजुङबाट क्यान्सरको उपचार गराउन भक्तपुर क्यान्सर अस्पताल आउनुभएका कवीन्द्र सेर्माले अस्पतालको फार्मेसी रित्तो रहेको भन्दै सरकारबाट पाउने सुविधा पाउनबाट समेत वञ्चित भएको बताउनुभयो । “बाहिर पनि एउटा मात्र फार्मेसीमा औषधी पाइने रहेछ । उनीहरूले जति भने पनि तिर्न बाध्य भयौँ,” उहाँले भन्नुभयो, “स्वास्थ्य बिमामार्फत पाउने औषधी र विपन्न नागरिकले पाउने सुविधा अनुसारका औषधी क्यान्सर अस्पतालको फार्मेसीमा छैन ।” आजको गोरखापत्र दैनिकबाट