काठमाडौँ । एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदै छ । यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुने छ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ । सोकेसका रूपमा रहने त्यस्ता परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र, नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलको कार्यक्रम राखिएको छ ।
त्यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ । यसबाहेक दुई दर्जन जति बिटुबी (व्यवसायी व्यवसायीबिच सोझै हुने छलफल) पनि सो क्रममा हुने छ । सम्मेलनकै क्रममा लगानी टुङ्गिएका परियोजनामा सम्झौतासमेत हुने छ । सम्मेलन अवधिभर भएका सम्झौता र उपलब्धिको विवरण सार्वजनिक गर्दै सोमबार समापन गर्ने कार्यक्रम राखिएको छ । आजको गोरखापत्र दैनिकबाट