काठमाडौं । ८१ प्रतिशत हिन्दू धर्मालम्बी भएको देशमा ऊँकार परिवारका सबै गर्दा ९३ प्रतिशत हुनआउँछ । तर, बाह्य दबाब र चलखेलमा देशलाई धर्मनीरपेक्ष बनाइयो । धर्मनीरपेक्ष बनेपछि हिन्दूमाथि विभिन्न कोणबाट आक्रमण चल्न थाल्यो । जसले हिन्दूहरुलाई एकजुट बनाउँदै लगेको छ । देशमा हिन्दूराष्ट्र पक्षधर एकजुट हुनथालेपछि प्रमुख दलहरुभित्र यो यो मुद्दा मजबुत बन्दै गएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा समेत हिन्दूराष्ट्र पक्षधर बलियो भएका छन् । काँग्रेसको त महासमिति बैठकमा हस्ताक्षर अभियान नै चल्यो ।
नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा राखिएको हिन्दूराष्ट्र स्थापना अभियानको पक्षमा पूर्वमहामन्त्री डा. सशांक कोइरालाले हस्ताक्षर गरेपछि राजनीतिलाई तरंगित बनायो । सशांक काँग्रेस संस्थापक नेता तथा देशका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका पुत्र हुन् । कोइराला हिन्दूराष्ट्रको पक्षमा विचार गर्नुपर्नेमा बोल्दै आएका थिए । महासमिति बैठकपूर्व काँग्रेसका २२ जना केन्द्रीय सदस्यले सुरु गरेको अभियानमा ३५ केन्द्रीय सदस्य देखिएका छन् । यो संख्या उल्लेख्य हो । हिन्दूराष्ट्रको पक्षमा देशको सबैभन्दा पुरानो र बलियो दल काँग्रेसमा बलियो मत देखिएपछि राजनीतिक तरंग आएको हो । त्यसमा पनि वीपीपुत्र सशांक नै खुलेका छन् । यसले भविष्यमा काँग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिनसक्ने सम्भावना औल्याइएको छ ।
यसैगरी, देशभर हिन्दूराष्ट्र पक्षधर बलियो हुँदै जाँदा हिन्दूविरोधी गतिविधिको सामना गर्ने गरी बढिसकेका छन् । पछिल्लो समय तराई र माथिल्लो पहाडी भेगमा हिन्दूविरोधी गतिविधि बढेपछि देशभरका हिन्दूहरु सचेत भएका हुन् । हिन्दूले आफ्नो धर्म र संस्कृति मान्दा आक्रमण हुन थालेको छ । रौतहटमा सरस्वतीको मूर्ति विसर्जन गर्न मुसलमान अतिवादीबाट रोकावट आउँदा हिन्दूहरु विरोधमा उत्रिए । हिन्दूमाथि ढुंगामुढा र हमला समेत भयो त्यहाँ । वीरगञ्जमा हिन्दूहरु त्यसको विरोधमा उत्रिए । त्यहाँ पनि हिन्दूमाथि आक्रमण भयो ।
पूर्वी पहाडमा हिन्दूहरुले सक्रियता देखाउन थालेपछि गाई काट्ने घटना घटाएर हिंसा भड्काउन खोजियो । त्यहाँ इशाई मिसिनरीहरु योजनावद्ध तरिकाले लागेको रिपोर्टहरु आएका छन् । हिन्दूहरुमाथि चौतर्फी आक्रमण र खतरा बढेको देखिएसँगै कतिपय दलहरुभित्र हिन्दुराष्ट्रको मुद्दा जोडतोडले उठेको छ । नेपाली काँग्रेसभित्र त हस्ताक्षर अभियान नै चल्यो । महासमितिमा ६ सयभन्दा बढी सदस्यले हिन्दूराष्ट्र अभियानमा हस्ताक्षर गरे । विभिन्न दलमा रहेका हिन्दूराष्ट्र पक्षधरहरु छलफलमा जुट्न थालेका छन् । उनीहरुले आफ्नो दलले यसबारे समयमै निर्णय नलिए कडा कदम चाल्ने चेतावनी पनि दिनथालेका छन् ।
यता हिन्दूराष्ट्रको मुद्दालाई कमजोर बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहको नाम सारेर खेल्ने गतिविधि पनि भएको छ । हिन्दूराष्ट्रको मुद्दालाई गिजोल्न शब्दजाल पनि हान्न थालिएको छ । यसमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सक्रिय भएका छन् । उनी नेपालमा हिन्दूराष्ट्र हुन नदिने मिसनमा छन् र यो मुद्दालाई बिगार्न अनेकन गतिविधि गरिरहेका छन् । हिन्दूराष्ट्रको मुद्दा कमजोर बनाउन रवि लामिछाने र स्वर्णिम वाग्लेहरु पनि सक्रिय भइसकेका छन् । भविष्यमा हिन्दूराष्ट्रको मुद्दा बलियो हुनसक्ने देखेरै लामिछाने योजनावद्ध तरिकाले आएका छन् । उनको दलमा हिन्दूराष्ट्रविरोधीहरु नै हावी छन् । स्वर्णिम वाग्लेले त हिन्दुवादी पार्टीमा नबस्न धम्की नै दिएका छन् ।
हिन्दुत्वको मुद्दा बोकेर हिन्दूराष्ट्र बनाउन जुटेकाहरु भविष्यमा देशलाई धर्मनीरपेक्षका नाममा असफल बनाउने खेललाई रोक्न अहोरात्र खटिएका छन् । उनीहरु दूरदराजका गाउँ गाउँ पुगेर भ्रम चिर्दै राष्ट्रका लागि संकल्प लिएर सक्रिय छन् । उचित समयमा संगठित समूहले महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।
देशमा हिन्दूहरुलाई चिढ्याउने गतिविधि चल्न थालेका ेछ । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन हिन्दूहरुलाई मुश्किल प¥यो । मुस्लिम अतिवादीले हिन्दूको मूर्ति नै अगाडि बढ्न नदिने गरी ढुंगा हाने । यसले खतरनाक अवस्था आएपछि स्थानीय प्रशासनले कफ्र्यु नै लगायो । रौतहटमा सर्वदलीय बैठक बसी तत्काललाई समस्या समाधान भएको छ । हिन्दूहरुले कफ्र्युका बीच सरस्वतीको मूर्ति विसर्जन गरे सोमबार । पछिल्लो समय तराईका जिल्लाहरुमा हिन्दूको धार्मिक गतिविधिमा अवरोध पु¥याउन केही समूह सक्रिय भएका छन् । विशेषगरी मुसलमान समुदायलाई हिन्दूविरुद्ध भड्काउनेहरु देखिएका छन् । रौतहटको असर वीरगञ्जमा परेको छ । वीरगंजमा बन्द, जुलुस तथा प्रदर्शन भएको छ सोमबार । त्यस क्रममा झडप नै भएको छ । कफ्यु तोडेर स्थानीय निस्किएपछि झडप भएको हो । देशमा हिन्दूहरुमाथि आक्रमण र उनीहरुका गतिविधिमाथि अवरोध पुर्याउने समूह सक्रिय भएको छ । यसले कुनैपनि बेला हिंसा भड्किने खतरा बढेको छ । हिंसा भड्काउन हिन्दू समुदायलाई तारो बनाउने गतिविधि भइरहेको छ । यसले कुनैपनि बेला धार्मिक द्वन्द्वको खतरा बढेको छ ।
काँग्रेसलाई कठिन
नेपाली काँग्रेसको महाधिवेशनको मुखमा हिन्दुराष्ट्रको मुद्दा उठाइयो २२ केन्द्रीय सदस्यहरुबाट । ती केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै पक्षका छन् । उक्त अभियानमा लोकेश ढकाल पनि छन् जो प्रकाशमान सिंहसँग नजिक मानिन्छन् । गगन थापा, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला पक्षधरबाहेक मुख्य गुटका नेताहरु हिन्दुराष्ट्रको पक्षमा समेत उभिएका छन् । काँग्रेसभित्र पहिलोपटक यति धेरै संख्यामा केन्द्रीय सदस्यहरुले हिन्दुराष्ट्र अभियानमा आफूलाई उभ्याए । महासमितिको बैठकमा यसले औपचारिक छलफलका लागि प्रवेश नपाएपनि कुरा उठ्यो । हस्ताक्षर अभियान प्रभावशाली बन्यो ।
काँग्रेस सभापति शेरबहादुर देउवा पनि हिन्दुराष्ट्रको पक्षमा लचिलो छन् । डा. शेखर कोइराला र डा. सशांक कोइरालाले त यसको पक्षमा लचकता विगतमा नै देखाएका हुन् । सशांक कोइराला त हस्ताक्षरकर्ता नै बने । वीपीपुत्र सशांकसम्मले हस्ताक्षर गरेपनि काँग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा औपचारिक मुद्दा बनाउने निर्णय आउने सम्भावना कम छ । यसका धेरै कारणहरु छन् । पहिलो कारण हो काँग्रेसको पदाधिकारी र शक्तिशालीमध्ये अधिकांश धर्मनीरपेक्ष पक्षधर । धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मा धर्मनीरपेक्षका कट्टर पक्षधर हुन् । उनीहरुलाई काँग्रेसको भावी नेतृत्वकर्ताका रुपमा पनि लिने गरिएको छ । नेतृत्वतहमा पकड धर्मनीरपेक्ष पक्षधरकै छ । काँग्रेसको निर्णायक तहमा रहेका सभापति देउवा हिन्दुराष्ट्रको पक्षमा आउने सम्भावना छैन । उपसभापति पूर्णबहादुर खड्का मौन छन् यस मुद्दामा । उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नै हिन्दुराष्ट्रको विपक्षमा खुल्नुले अर्को महाधिवेशन अघि काँग्रेसबाट धर्मनीरपेक्ष छाड्ने निर्णय आउने सम्भावना देखिदैन । दोस्रो कारण हो सत्तारुढ गठबन्धन । गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा धर्मनीरपेक्ष पक्षधर हुन् । उनीहरुभित्र हिन्दुराष्ट्रको मुद्दा निकै कमजोर छ । काँग्रेसले हिन्दुराष्ट्रलाई मुद्दा बनाएमा गठबन्धन नै भत्कन सक्छ ।
तेस्रो कारण हो नयाँ दलका रुपमा उदाएको रास्वपा धर्मनीरपेक्षको पक्षमा उभिनु । काँग्रेसले हिन्दुराष्ट्रको पक्षमा जाने निर्णय लिएमा धर्मनीरपेक्ष पक्षधरहरु काँग्रेस छाड्ने भय नेतृत्वलाई छ । रास्वपा हिन्दुविरोधी दलका रुपमा उभिइसकेको छ । स्वर्णिम वाग्लेले त हिन्दुवादी र राजावादी रास्वपामा नअट्ने बताइसकेका छन् । चौंथो कारण हो बाह्य । विशेषगरी पश्चिमा शक्ति काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दालाई कमजोर भएको देख्न चाहन्छ । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा नै आधिकारिक भएमा ती शक्तिको साथ नहुन सक्छ । त्यसले पुग्ने क्षति थेग्न काँग्रेसलाई कठिन पर्न सक्ने अवस्थाको चित्रण गरिन्छ । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा रणनीतिक तरिकाले उठाइएको हुनसक्छ । तर, उसले हिन्दुराष्ट्रको मुद्दा नै उठाउने सम्भावना देखिदैन ।