एनसेलकाण्ड सल्टाउन भूपेन्द्रलाई चाबी

20.1k Shares

काठमाडौं । चोरलाई चाबी दिने प्रवृत्ति देशमा चलिरहेको छ । यस्तै भएको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीको नियुक्तिले । प्रचण्ड सरकारले भण्डारीलाई नियुक्ति गरेर अक्षम्य गल्ती गरिसकेको छ जसको परिणाम चाँडै देखिनसक्छ । रोचक त यो छ कि एनसेल कर छलीका डिजाइनरमध्येका हुन् भण्डारी । एनसेल कर छलीको रणनीति अन्तर्गत भण्डारी दूरसञ्चारसम्बन्धी नियामक निकायमा ल्याइएका छन् । उनलाई योजनावद्ध तरिकाले सञ्चार मन्त्रालयको विज्ञ बनाएर ल्याइएको थियो । त्यहाँ बसेर उनले एनसेलको कर छली देखि शेयरको गैरकानूनी खरिद प्रक्रिया मिलाउन भूमिका खेलेका थिए । अब नियामक निकायमा उनैलाई राखेर यो प्रकरण सल्टाउन खोजिएको छ । 
भण्डारीलाई एनसेलका सञ्चालकहरुले नै योजना बनाएर सञ्चार मन्त्रालयमा घुसाएका थिए । उनी  एनसेलका सल्लाकार थिए केही महिना अघिसम्म । उनी अहिले पनि भित्री रुपमा एनसेलको सल्लाहकार नै मानिन्छन् । दाङ घर भएका भण्डारी विगतमा एनसेलसँग जोडिएको समूहसँग काम गरिसकेका हुन् । उनी बुरुण्डीस्थित स्मार्ट बुरुण्डी कम्पनीमा काम गरेका थिए । उक्त कम्पनी एनसेलसँग आवद्ध समूहको हो । यो कम्पनीमा एनसेलसँग जोडिएका उपेन्द्र महतो र सतिलशाल आचार्यहरुको संलग्नता थियो । यो कम्पनी सन् २०२२ मा भ्रष्टाचारको कारण लाइसेन्स म्याद सकिएपछि बन्द भएको हो । भण्डारी स्मार्ट बुरुण्डीको सीइओ भएर २००७ देखि २०१५ सम्म काम गरेका थिए । 
भण्डारी त्यसपछि एनसेलको सल्लाहकारका रुपमा काम गरे । एनसेलको सेयर विक्री गर्ने एक्जिएटासँग पनि उनको विशेष सम्बन्ध रहेको छ । एनसेलको सल्लाहकार हुँदै गर्दा उनी योजनावद्ध तरिकाले सञ्चारमन्त्री रेखा शर्माको सल्लाहकार भएका थिए । भण्डारीको सञ्चारमन्त्री शर्माका पति कृष्णध्वज खड्कासँग विशेष सम्बन्ध रहेको छ । एनसेल कर छलीमा खरबौंको खेल छ । राज्यलाई ६० अर्बभन्दा बढी कर छल्न सात अर्बभन्दा कम मूल्यमा ८० प्रतिशत शेयर खरिदविक्री देखाइएको छ । यसका लागि बेलायतमा कम्पनी खोलिएको छ । नेपालको इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार मानिएको एनसेल कर छली प्रकरणमा राज्यको महत्वपूर्ण निकायमा रहेकाहरु नै जोडिएका छन् । एनसेल कर छली मिलाउनका लागि नै दबाब दिएपछि पुरुषोत्तम खनालले प्राधिकरणबाट राजीनामा दिएका थिए । त्यसपछि योजनावद्ध तरिकाले भण्डारीलाई ल्याइएको छ । 

सम्बन्धित समाचार