काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठनहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध जथाभाबी बोल्नेलाई कारबाहीको माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभाबी बोल्नेलाई कारबाही गर्न माग गरेका हुन् । नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले देशभरका बैंक तथा वित्तीय संस्थाहरूले वार्षिकरुपमा ३१ अर्बभन्दा धेरै राजश्व बुझाउँदै आएको बताएका छन् ।
यस्तै, ८२ हजार जनालाई रोजगारी दिएको समेत छाता संगठनहरुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ‘नेपालको बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरू र १८ लाख भन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा छन् ।