काठमाडौं । अपराधिक गतिविधिलाई सुक्ष्म अनुसन्धान गरी ठाउँको ठाउँ कारबाहीमा ल्याई सर्वसाधारणको मन जित्न सफल बन्दै आएको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पछिल्लो समय भनसुन, हचुवाको भरमा कसैले उजुरी दिएकै आधारमा अनुसन्धान नै नगरी रेड कर्नर नोटिस जारी गर्नुका साथै तस्करहरुसँग आर्थिक बार्गेनिङ्ग गरेको समाचारहरु छताछुल्ल भएको छ ।
चिनियाँ गिरोहको नेतृत्वमा भएको सुन तस्करी सम्बन्धी घटनाको अनुसन्धानमा चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा सीआईबीविरुद्ध परेको उजुरीले पुष्टि गरेको छ ।
अनुसन्धानको क्रममा सिआइबीका अधिकारीले सुन तस्करहरुसँग ३२ करोडको डिल गरेको उजुरीमा उल्लेख छ । हाल जेलका रहेका प्रतिवादीहरू किशोर बस्नेत लगायतले आफन्तमार्फत् यसरी उजुरी गरेका हुन् ।
डिल गरेर केहीलाई फसाएको र केहीलाई उन्मुक्ति दिइएको दाबी गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार महानिरीक्षक बसन्तबहादुर कुँवरले उजुरीउपर छानबिन गर्ने तयारी गरेका छन् ।
उजुरीमा सिआइबीका केही प्रहरी अधिकारीकै नामै उल्लेख छ । सुन तस्करीमा संलग्न जीवन चलाउनेलाई सुरुमा डिल गरेर मुद्दा नचलाउने सेटिङ भएको र पछि फरार बनाएर प्रतिवादी बनाइएको आरोप छ ।
साथै, अलफ्ट होटेलमा रहेको वाल्डो क्यासिनोका सञ्चालकको समेत गिरोहमा संलग्नता देखिएपनि सिआइबीले जोगाएको उजुरीमा उल्लेख छ ।
दावा छिरिङसँग सम्पर्क देखिएका धेरै व्यक्तिहरूलाई विस्तृत अनुसन्धान नगरी सिआइबीले उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले समेत अनुसन्धानमा निष्पक्षता नभएको विषयमा सिआइबीकी एआइजी किरण बज्राचार्यलगायत अधिकारीसँग सोधपुछ गरेको छ । पछिल्लो समय सीआईबी प्रमुख बज्राचार्यले गरेको गतिविधिका कारण सीआईबीका उच्चअधिकृतदेखि लिएर प्रहरी जवानहरुसमेत रुष्ट बन्दै आइरहेका छन् । बज्राचार्यले सीआईबीको ड्रेसमा समेत कमिशन मोह देखाएको भन्दै सीआईबीको उच्चअधिकृतदेखि प्रहरीहरुसमेतमा असन्तुष्टि बढेको सीआईबीकै उच्च अधिकारीले खोजतलासलाई जानकारी गडराए ।