काठमाडौं । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचारी र अपराधी जोगाउन वर्तमान सरकार बनेको’ अभिव्यक्ति दिएको ‘काउन्टर’मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाएको’ दाबी गरेका छन् ।
प्रतिनिधिसभामा बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद्बीच ‘माओवादीको १० वर्षे जनयुद्ध’bout नोकझोक चलिरहेकै’ बेलामा प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई शनिबार सम्बोधन गर्दै माओवादीले जनयुद्धको नाममा हिंसा फैलाएको, अन्धाधुन्ध मान्छे मारेको र लुटेको आरोपसमेत लगाए । तत्कालीन समयमा माओवादीको गतिविधिलाई लिएर आफूले चर्को प्रतिरोध गरेको पनि उनले दाबी गरे ।
ओलीले यसअघि पनि माओवादीको सशस्त्र विद्रोहलाई हिंसाको संज्ञा दिँदै आएका छन् । ओलीले जनयुद्धलाई हिंसा भनेपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको प्रतिकार गर्दै आएका छन् । हालै प्रतिनिधिसभा बैठकमा एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र विद्रोहलाई हिंसा भन्दै टिप्पणी गरेपछि संसदमै तनाव उत्पन्न भएको थियो ।
संविधानले नै माओवादी आन्दोलनलाई सशस्त्र विद्रोहका रूपमा स्वीकार गरिसकेको अवस्थामा हिंसा भनेर माओवादी आन्दोलनलाई होच्याउने काम आफूलाई स्वीकार्य नभएको भन्दै माओवादी नेताहरूले प्रतिवाद गर्दै आएका छन् ।
‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेको बेला, अन्धाधुन्द मान्छे मारिरहेको बेला, लुटिरहेको बेला, त्यसबेला चर्को प्रतिरोध गरेँ मैले । व्यक्तिगत तबरमा पनि मसँग सेना, प्रहरी थिएनन् । तर, मैले चर्को विरोध गरेँ । त्यो खाली एउटा मोरल साहस मात्रै हो । सत्यप्रतिको मेरो निष्ठा मात्रै हो, तपाईंहरू गलत गर्दै हुनुहुन्छ, यो बन्द गर्नुस् भन्ने कुरा लगातार गरें,’ ओलीले भने ।
उनले अगाडि थपे, ‘यो बेठीक हो भने, विरोध मात्रै गरिनँ, मैले कसरी वार्ताद्वारा समायोजन गर्नुपर्छ भनेर लेख लेखेँ, पछि २०६३÷६४ मा जेजे कुरा भए, मैले २०५८ सालमा भनेका थिएँ, संवादका माध्यमबाट समस्या समाधान गरौं, हिंसा गरेर, हिंसा भड्काएर र मान्छे मारेर समस्या समाधान हुँदैन, तर फेरि माओवादी हिंसालाई नरोक्ने हो भने त्यो रोकटोकबिना अगाडि बढ्दै जाने भयो, हिंसाको प्रवृत्ति र मनोबल बढ्दै जानेभयो, रोक्ने प्रयास राज्यका तर्फबाट भया, जायज प्रयास भयो, त्यसमा राज्य मूकदर्शक भएर बस्न सक्दैनथ्यो ।’
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट नडराउने बताए । प्रचण्डले संसदमा बोल्दा बंगलादेश र श्रीलंकाको घटनाबाट सिक भनेर अर्ती तथा उपदेश दिएको प्रसंग निकाल्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने जवाफ फर्काए । आजको राजधानी दैनिकबाट