काठमाडौं – आईसीसी यू–१९ क्रिकेट विश्वकप आजबाट सुरु हुँदै छ । दक्षिण अफ्रिकामा हुन लागेको १५औँ संस्करणको यो विश्वकपमा नेपालसहित विश्वका उत्कृष्ट १६ युवा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
विश्वकपको पहिलो दिन दुई खेल हुनेछन् । आज आयरल्यान्डले अमेरिकासँग र घरेलु टोली साउथ अफ्रिकाले वेस्ट इन्डिजसँग खेल्दै विश्वकपको सुरु गर्नेछन् ।
सन् १९८८ मा सुरु भएको यू–१९ क्रिकेट विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । सन् १९९६ पछि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली क्रिकेटको युवा टोलीले सन् २००० मा पहिलो पटक विश्वकप खेलेको थियो ।
त्यसयता सन् २००२, सन् २००४, सन् २००६, सन् २००८ र सन् २०१२ को विश्वकपमा छनोट भएको नेपाल अर्को पटक विश्वकपमा पुग्न सन् २०१६ लाई पर्खनुपरेको थियो । हाल नेपाली राष्ट्रिय क्रिकेट टिमका अधिकांश खेलाडीले खेलेको सो विश्वकपमा नेपालले आठौँ स्थान हात पारेको थियो । यो नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो ।