चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजश्व संकलन

16k Shares

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्।निकुञ्जमा जंगल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन्।विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो।

यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्।यसैगरी, घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरिसृप तथा उभयचर, बसाइँसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन्।चितवन राष्ट्रिय निकुञ्जका वरिष्‍ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए।

वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका १ लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरे।उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ३ लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए।वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष ३ लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ।उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बताए।

सम्बन्धित समाचार