काठमाडौँ । माओवादी केन्द्र बागमती प्रदेशले चार सय १८ वटामा सम्मेलन र भेला गर्न बाँकी रहेको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानसँगै पुस २ गते काठमाडौँको जमलमा बसेको प्रदेश समितिको पूर्ण बैठकले ९ गते प्रदेशको सबै वडामा सम्मेलन गर्ने निर्णय गरेको थियो । पुस ९ गतेसम्मको प्राप्त रिपोर्टअनुसार एघार सय २१ वडामध्ये ४१८ वडामा सम्मेलन गर्न बाँकी रहेको हो । प्रदेशको १३ वटा जिल्लामध्ये सिन्धुलीमा एक, ललितपुरमा ३३, काठमाडौँमा १८, चितवनमा ४३ वडा बाँकी छ । यस्तै धादिङमा १३, दोलखा ४६, नुवाकोट २०, रसुवा २०, भक्तपुर २७, मकवानपुर ४१, रामेछाप २९ र सिन्धुपाल्चोकमा ५३ वडामा सम्मेलन हुन बाँकी छ ।
बागमती प्रदेशको अभियान सोमबार जमलस्थित नाचघरमा समापन भएको छ । सम्मेलन हुन केही जिल्लामा मात्र बाँकी रहेको नेता हिमाल शर्माले जानकारी दिए । ‘पुस ९ गते सम्मेलन नभएका धेरै वडाहरूमा सम्मेलन भइसकेको छ । तर पछिल्लो विवरण अद्यावधि हुन सकेको छैन’, उनले भने । सातै प्रदेशको वडास्तरमा अभियान भएको भएपनि वडा सम्मेलन अभियानकै क्रममा बागमतीले मात्र गरेको हो ।