दार्चुलाका ३३ वडाद्वारा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा शुरू

8.3k Shares

दार्चुला – दार्चुलामा नौ वटा पालिकाका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा शुरू गरेका छन् । ६१ वडामध्ये ३३ वडाबाट अनलाइन सिफारिस शुरू भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

अनलाइन सिफारिस प्रणाली शुरू भएका वडाका सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिस बोकेर प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । उहाँका अनुसार गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरका साथ प्रशासनमा पठाउँछ ।

प्रशासनले त्यही कोड नम्बरका आधारमा विवरण रुजु गरी नागरिकता प्रदान गर्छ । अनलाइन सिफारिस प्रणालीले सेवाग्राहीलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्नुका साथै गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याएको उहाँले बताउनुभयो । 

 

सम्बन्धित समाचार