काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्नबाट रोक्ने देखि नयाँ दल निर्माणसम्मको रणनीतिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहमत भएका छन् । आज तीन नेता बसेर यस्तो सहमति बनाएका हुन् ।
विश्वस्त स्रोतका अनुसार आफ्नो समूहका २० प्रत्यक्ष निर्वाचित सांसदसहित २८ जनाको राजीनामा भोलि नै गर्ने र नयाँ दल दर्ताको प्रक्रियामा जाने सहमति समेत नेतात्रयले गरेका छन् । राजीनामा पत्र तयार भइसकेको र भोलि दर्ता गरिने बुझिएको छ ।
ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि नेपाल, खनाल र गौतम बसेर कठोर कदम चाल्ने निष्कर्षमा पुगेको स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दियो । उनीहरुले भावी रणनीति समेत तयार गरेका छन् ।
नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेन देखि भद्र सहमति गरेपछि खनाल र गौतमलाई ब्रिफिङ गरेका थिए । सहमति अनुसार प्रत्यक्षतर्फ राजीनामा दिने सांसदहरुलाई उपनिर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउने, सरकारमा ६ जना मन्त्री पाउने र चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने विषय मुख्य छन् । सहमतिमा खनाल र गौतम सहमत भएपछि अगाडि बढ्ने निर्णय लिएका हुन् ।
नेतात्रय बसेर नयाँ दलको खाका समेतलाई लगभग अन्तिम रुप दिएका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । झलनाथ खनाललाई विशेष सम्मानित पद दिइनेछ ।