काठमाडौँ - पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्ने बताएका छन् ।
झापाको विर्तामोडमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा आज आयोजित कार्यक्रममा पाण्डेले ‘कृषि जग्गामा हदबन्दी जरुरत नै नभएको’ धारणा व्यक्त गरे । “नेपालमा बसेर काम गर्नेे वातावरण बनाउने हो भने सरकारले नयाँ ढङ्गले सोच्ने र नयाँ योजनाका साथ काम गर्न थाल्नुपर्छ”, पूर्वअर्थमन्त्री पाण्डेले भने, “कृषि उद्योगमा जग्गाको हदबन्दी हटाउनुपर्छ ।”
जग्गा टुक्राटुक्रा पारिएकाले कृषिमा लागत महँगो भएको र उत्पादनले नाफा दिन नसकेको जनाउँदै नेता पाण्डेले जग्गालाई बाझो राख्न नदिने कानुन निर्माण गर्न स्थानीय तहको सरकारलाई आग्रह गरे । भारतले धान निर्यातमा रोक लगाएको प्रसङ्ग निकाल्दै उनले यसलाई धानमा आत्मनिर्भर हुने अवसरका रुपमा लिइनुपर्ने बताए ।