काठमाडौं । नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् । उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्यारियर (एपिसी) खरिदका लागि नेपाल 'एजेन्ट' रहेका छन्
नेपाल प्रहरीकै शिर झुकाउने उक्त घोटालाका मुख्य सहयोगी ठेकेदार भारतीमार्फत नेपाली सेनाले भारतबाट एपिसी खरिदका लागि एलसीसमेत खोलिसकेको छ । भारती सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको ४४ करोडको एपिसीमा साढे २८ करोडबराबरको भ्रष्टाचारमा मुछिएका थिए । सो काण्डमा उनीलगायत तत्कालीन प्रहरी महानिरीक्षकले जेल सजायसमेत भुक्तान गरेका थिए ।
भारतीको कम्पनी भगवती ट्रेडर्स नेपाली सेनाको सामान ल्याउने नेपाली सहजकर्ता बनेको सैनिक स्रोतको दाबी छ । नेपाली सेनाले चीनबाट पनि २६ वटा एपिसी खरिद गर्न ३३ मिलियन अमेरिकन डलर (करिब ४ अर्ब ४२ करोड रकम) बराबरको सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै हिमालय बैंकमा एलसी खोलेको छ । गत साता नेपाली सेनाले त्यसका लागि दुईवटा एलसी खोलेको हो । चीनबाट सैन्य सामग्री ल्याउने निश्चित भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।