काठमाडौं– उत्तर कोरियाले आइतबार एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी दक्षिण कोरियाली सेनाले गरेको छ। अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङ (उत्तर कोरिया)को शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला ब्यालेस्टिक क्षेप्यास्त्र प्रहारको समाचार सार्वजनिक भएको हो।
सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।
दुई राष्ट्रले शुक्रबार वासिङ्टनमा आणविक परामर्शदाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए। जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए।
उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा पूर्ववर्ती किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले यो प्रक्षेपण गरेको बताइएको छ। इलको सन् २०११ डिसेम्बर १७ मा निधन भएको थियो।