काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्धको धर्ना ८ औँ दिन पनि जारी छ।प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा विरोधको कार्यक्रम जारी राखेको हो। बुधबार पनि समितिले धर्नालाई यथावत राखेको हो।
प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए।
उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजी पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने बताए। उनले आफूहरुले पूँजी पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको उल्लेख गरे।उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदा पनि विभागीय मन्त्रीले कुनै चासो नदेखाएको गुनासो गरे। उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागीय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए।