काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिने र दिने दुवै पक्षको कमजोरी रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै डा महतले ऋणदाता र ऋणी दुवैको कमजोरी रहेको बताएका हुन् ।
उनले भने, 'कोरोनाबाट सबै क्षेत्र प्रभावित भएको समयमा उद्योगधन्दा कलकारखानामा लगानी गर्ने स्थिति थिएन । त्यही समयमा सस्तोमा ऋण पाइयो भनेर ऋणीले जथाभाबी रकम लिएको पाइयो ।' बैङ्क तथा वित्तीय संस्थाले समेत माग आए जति रकम ऋणका रूपमा बाडेको महतको आरोप छ । यो प्रवृत्तिबाट अर्थतन्त्र समस्यामा आएको र अहिले बल्ल सुधारतर्फ अघि लम्केको अर्थमन्त्री महतको भनाई छ ।
'ऋणी र ऋणदाता दुवैबाट कमजोरी भएकै हो', डा. महतले थपे, 'यसमा नियामकको समेत कमजोरी देखिन्छ ।' तर लिएको ऋण तिर्दिन भन्दै हिँड्न नहुनेमा आफू अडिग रहेको महतले बताए । उनका अनुसार राजनीतिक रङ्गका कारण ऋण नतिर्ने आवाज उठेपनि त्यसो हुन नदिन सरकार प्रतिबद्ध छ ।