काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिएपछि नेपाल-भारत सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ । भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नेपाल भारत सबै नाका बन्द गर्ने तयारी गरेको हो ।
विभिन्न कामले भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । कञ्चनपुरको गड्डा चौकी, बाँकेको जमुनाहा नाका भैरहवाको सुनौली नाका तीन दिन अघिबाटै कडाई हुन थालेको थियो । सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीले सबै नाकामा आवतजावतलाई कडाई गर्न निर्देशन दिएको थियो ।
जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनदेखि नेपाल पठाउने गरेका छन् । पर्साको रक्सौल, विराटनगर तथा काकडभिट्टा नाकाबाट अत्यावश्यक सामाग्री बोकेका सवारी साधानबाहेक अन्य सवारी साधानलाई प्रवेश निषेध गर्न थालिएको छ ।
त्यसैगरी कपिलवस्तुको कृष्णनगरबाट पनि अत्यावश्यक सामान बोकेका सवारी साधान मात्रै प्रवेश दिन लागिएको र अन्यलाई रोक लगाउने तयारी भैरहेको छ । भारतसँग खुला सीमा भएकाले सुरक्षाकर्मी परिचालन गरी नाका बन्द गर्न लागिएको हो ।
भारतसँगको सीमामा १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउटर पोस्ट (बिओपी) छ । भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट सीमा नाका व्यवस्थित गर्ने, कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यका साथमा सीमा नाकामा कडाई, अत्यावश्यक वस्तु ढुवानीमा सहजिकरण तथा चोरी, तस्करी नियन्त्रण गर्ने जनाएको छ । खासगरी स्थलमार्ग हुँदै भारतीय नागरिकहरु नेपाल आउन थालेपछि सशस्त्र प्रहरीले उनीहरुको पनि निगरानी गर्ने जनाएको छ ।
अहिले कैलाली र कञ्चनपुरका भारतसँग सीमाना जोडिएका अस्थायी सबै नाका अनिश्चितकालका लागि बन्द भएका छन् । भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढ्ने आशंका गर्दै सीमा नाका बन्द गर्न लागिएको हो ।
मुलुकभर कोरोना संक्रमण बढेपछि सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जाने विदेशी नागरिकलाई पनि आजबाट रोक लगाएको छ । भारतीय नागरिकले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान थालेपछि सरकारले सबै विदेशी नागरिकलाई तेस्रो मुलुक जान रोक लगाएपछि स्थलमार्गबाट नेपाल आएका भारतीय नागरिकहरु समस्यामा परेका छन् ।