काठमाडाैँ – एसिसी यू–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय ५३ रनको विजयी लक्ष्य १ सय ४२ बल (२६.२ ओभर) बाँकी हुँदै ३ विकेट गुमाएर पूरा गरेको हो।पाकिस्तानले सहज जित हासिल गर्ने क्रममा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले। पाकिस्तानका लागि अजन अवाइसले ५६ रनको अविजित इनिङ खेल्दा कप्तान सादा बाइगले ५० रनको इनिङ खेलेका थिए। त्यस्तकै मोहम्मद जेसन २० रनमा अविजित रहे।
१ रनमानै पहिलो विकेट गुमाए पनि त्यसको मूल्य भने पाकिस्तानले चुकाउनु परेन। नेपालका लागि गुल्सन झाले दुइ विकेट लिएका थिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। नेपालका लागि केवल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाएका थिए।
दुबई स्थित आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमाएपनि त्यसपछि उतम थापा मगर र दिपेश कँडेलले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई केही समालेका थिए। कँडेल ५९ बलमा ३१ रन बनाएर आउट हुँदा मगरले भने अर्धशतकीय इनिङ खेले। उनले ७६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन कुमालको २१ रन रह्यो।
पाकिस्तानका लागि मोहम्मद जेसनले ५ विकेट लिंदा अमिर हसनले २ तथा उबाइड साहले १ तथा अली अस्फान्दले १ विकेट लिएका थिए।त्यसअघि नेपालका आशा गरिएका सुरुवाती क्रमले भने निरासाजनक प्रदर्शन गरेका थिए। तिलक भण्डारी, आकाश त्रिपाठी, कप्तान देव खनाल, गुल्सन झा लगायतका खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्।