काठमाडौँ । धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि उपमहानगरपालिकाले आफ्नै लगानीमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।शव चिस्यान सेवा नगरवासीलाई नि:शुल्क उपलब्ध गराइने छ । सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ ।
विदेश तथा घरबाट टाढा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नुपर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवाको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।
उनले धनगढी उपमहानगरपालिकालाई जनताप्रति उत्तरदायि बनाउँदै लगिएको र वैदेशिक रोजगारी तथा घरबाट टाढा रहेका दाजुभाइलाई आफन्तको मुत्यु हुँदा शव राख्ने चिस्यान अभावमा आमाबुवा तथा आफन्तको अनुहारसमेत हेर्न नपाउने अवस्था नआओस् भनेर शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताए ।
मृत्युलाई रोक्न नसकिने तर कसैको मृत्यु हुँदा आफन्तजन आउँदासम्म शवलाई सुरक्षित राख्न सकियोस् भनेर नगरवासीलाई निुशल्क शव चिस्यान सेवा सञ्चालन गरेको नगर प्रमुख हमालको भनाई छ ।
नगर प्रमुख हमालका अनुसार धनगढीवासीले उपमहानगरमा फोन गरेर जानकारी गराएपछि नगर प्रहरीले शव चिस्यान सेवा घरसम्मै नि:शुल्करुपमा पुर्याइदिने र दाहसंस्कार गरिसकेपछि नगर प्रहरीले नै सो चिस्यान फिर्ता लिएर आउनेछन् । शव चिस्यान विद्युतबाट सञ्चालन हुन्छ ।धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षित राख्न सहयोग हुने बताइन् । उनले विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउदासम्म शव जोगाउन समस्या हुने गरेको बताउँदै मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरेको बताइन् ।
चिस्यान सेवाले सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।धनगढी उपमहानगरपालिकाले यसअघि विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि नगद ५ हजार र निशुल्क शव बाहन पनि दिँदै आएको छ ।