मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण, निषेधाज्ञा जारी

16.8k Shares

२० वैशाख, जलेश्वर। गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

    गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

   
निषेधाज्ञा जारी

जिल्लामा कोरोना सङ्क्रमणको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरी कोरोनाको ‘चेन ब्रेक’ गरी सङ्क्रमण न्यूनीकरण तथा रोकथामको प्रयास थालनी गरिएकोे छ । बैठकले जिल्लाको १५ वटै पालिकालाई अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, सङ्कटको बेला उपभोक्तालाई ठगी नगर्न जस्ता निर्देशनहरुसमेत जारी गरेको छ ।  
 

सम्बन्धित समाचार