काठमाडौं– दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ३ विकेटको संघर्षपूर्ण जित निकाल्यो।
कोलकाताको इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई जितका लागि २१३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो।
जवाफी ब्याटिङ थाल्दा अस्ट्रेलियाको सुरुवात भने राम्रो रह्यो। पहिलो विकेटका लागि डेविड वार्नर र ट्रेभिस हेडले ६० रनको साझेदारी गरे। हेडले ४८ बलमा ६२ रन बनाए। जसक्रममा उनले ९ चौका तथा २ छक्का प्रहार गरे।
वार्नरले २९ रन बनाए। वार्नर आउट भएपछि अस्ट्रेलियाले सस्तैमा विकेट गुमाउन थालेको थियो। यसबीच पनि स्टिभ स्मिथले ३० र जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जित दिलाउने आधार तयार गरे। मिचेल स्टार्क १६ र प्याट कमिन्स १४ रनमा नटआउट रहे।
अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका गेराल्ड कोएत्जी र तबरेज शम्सीले २–२ विकेट लिए। मार्को जेन्सेन, कागिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि डेविड मिलरले सर्वाधिक १०१ रन बनाए। ११६ बलमा सामना गरेका उनले ५ चौका र ८ छक्का प्रहार गरे।
दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन। २४ रन बनाउँदासम्म उसले ४ विकेट गुमाइसकेको थियो।
दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले ३–३ तथा र जोस हेजलउड र ट्राभिस हेडले २–२ विकेट लिए।
५ पटकको विश्वविजेता अस्ट्रेलिया पुन: उपाधिको नजिक पुगेको हो। आठौंपटक विश्वकपको फाइनल पुगेको अस्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो।