अर्थपूर्ण जीवन सार्थक हो भने भ्रमयुक्त जीवन निरर्थक हो । सार्थक जीवनको परिभाषा आआफ्नै सोच अनुसार फरकफरक हुन सक्छन् । सम्पन्न जीवन या शक्तिशाली जीवन, भोगको जीवन या त्यागको जीवन, संसारिक जीवन या सन्यासी जीवन या शक्तिशाली, भोग, सांसारिक सबैको योगको जीवन नै सार्थक हो ? एक किसिमका मानिस यस्तो जीवनको कल्पना गर्छन्, जहाँ न अभाव, न दुर्बलता, न रोग, न बिछोड, न कुनै अपुरो, सबै सम्पन्नताको जीवन । जसले सम्पूर्ण रूपमा सम्पन्नतालाई सार्थक जीवन भनेर बुझ्ने गर्छन, त्यस्तो व्यक्तिले जीवनमा सम्पन्नताको अपेक्षा गर्छन् । मानिस त्यसैको पछि लाग्छन र त्यसैमा जीवन बिताउँछन् । अर्काथरीले समर्पणमा जीवनको सार्थकता देख्छन्, जति त्याग गर्न सक्षम बन्छन््, त्यति नै सार्थक देख्छन् । मानव जीवन मानव कल्याणमा जति योगदान गर्न सम्भव भयो, त्यति नै सार्थक देख्छन् । सार्थक जीवन भनेकै मानवतासहितको जीवन हो । मानव जीवन मानवता बिना कसरी सार्थक हुन सक्छ ? सेवा र मानव कल्याणको जीवन निस्वार्थ हुन्छ । जुन जीवन धेरै मानवको उपयोगी बन्छ, त्यो जीवन मूल्यवान हुन्छ, धेरैको प्रिय बन्दछ । जसको मृत्युमा धेरै मानिसको आँसु बग्छ, अभावको अनुभूति गर्छ, वास्तवमा त्यो जीवन सार्थक जीवन हो । स्वार्थपूर्ण विवेकहिन जीवन जति नै सम्पन्न भए तापनि सार्थक बन्न सक्दैन । स्वार्थी जीवन कसैको लागि पनि उपयोगी बन्न सक्दैन । त्यस्तो जीवनको के अर्थ ? अर्थहीन जीवन कसरी सार्थक हुन्छ ? खाने, सन्तान जन्माउने अनि मर्ने । यो सबै प्राणीहरूमा चल्ने जीवन प्रक्रिया हो । पशुहरूमा यो प्रक्रिया सहज रूपमा चल्छ तर मानवको लागि त यो प्रक्रिया पनि सहज हुँदैन, सुखद हुँदैन । यतिमै सिमित भई बाँच्नु त पशु भएर बाँच्नु हो । यस्तो जीवनलाई सार्थक मान्न सकिँदैन । किनभने मानव जीवन चेतनाको जीवन हो, विवेकशील जीवन हो । चेतनायुक्त र विवेकशील भएर उच्चस्तरको जीवन बाँच्नु सार्थक जीवन हो । गौतम बुद्धको जीवन, रामको जीवन, महावीरको जीवन, जिजसको जीवन, लियोनार्दो दा भिन्सी, सुकरातको जीवन सार्थक जीवनका उदाहरणहरू हुन् । त्यस्तै कबिरदास, महात्मा गान्धी, शहिद धर्मभक्त, गंगालाल, दशरथचन्द, शुक्रराज शास्त्रीको जीवन पनि सार्थक जीवनका उदाहरण हुन । त्यति मात्र होइन, सर आइज्याक न्यूटन, थोमस एल्भा एडिसन, अल्बर्टो आइन्सटाइन, स्टिफन हकिङ जस्ता वैज्ञानिकहरू पनि सार्थक जीवन बाँच्न सफल भएका महान व्यक्तिहरू हुन जसले आफ्नो सम्पूर्ण स्वार्थ त्याग गरेर मानव कल्याणमा जीवन समर्पण गरे । सार्थक जीवन बाँच्ने महापुरुषहरूलाई मानव समाजले युगयुगान्तरसम्म पनि आदर्शको रूपमा सम्झिरहन्छ । अतः आफ्नो जीवनलाई सार्थक बनाउनु छ भने व्यक्तिगत स्वार्थलाई त्याग गर्न सक्नुपर्छ । समाज कल्याणमा र मानव कल्याणमा क्षमता अनुसारको केही न केही योगदान पु¥याउने प्रण गर्नुपर्छ । अरू केही गर्न सम्भव भएन भने पनि आफ्नो कारणले अरूलाई दुःख, समस्या नपरोस् भनि सोच्नुपर्छ र त्यहि अनुसार व्यवहार गर्ने आँट गर्नुपर्छ । भन्न जति सजिलो छ, व्यवहार गर्न त्यति सजिलो अवश्य पनि छैन । त्यसैले त सबैका जीवन सार्थक हुँदैन । सबै बुद्ध, राम, महावीर, जिजस या सुकरात बन्न त सम्भव नहोला तर आफ्नो र आफ्नो परिवारको निम्ति बिताउँदै गरेको समयबाट केही समय कटाएर समाजको लागि छुट्याउन् त अवश्य सकिन्छ । यति मात्रले पनि समाज कल्याणको लागि महत्वपूर्ण योगदान साबित हुनसक्छ । वैज्ञानिक स्टीफन हकिङ भन्नुहुन्छ, ‘मृत्यु त निश्चित छ, तर जन्म र मृत्युबिच कसरी जिउने त्यो हामीमा निर्भर हुन्छ ।’ वास्तवमा अर्थपूर्ण जीवन नै सार्थक जीवन हो । समर्पणको जीवन नै सार्थक जीवन हो । यसै सन्दर्भमा एउटा प्रसङ्ग यहाँ उल्लेख गर्न चाहन्छु ।
एउटा यस्तो समाज छ, जहाँ मान्छे मर्दा लास उठाउनु अघि लासको वरपर समाजका सबै मानिस बसेर मृतकको सामाजिक मूल्याङ्कन गर्छन् । यसरी मरेको मान्छेको सामाजिक मूल्याङ्कन गर्ने त्यहाँको परम्परागत चलन हो । सामाजिक मूल्याङ्कन अनुसार त्यस व्यक्तिले जति योगदान गरेको ठहर हुन्छ, त्यहि अनुसार बाँचेको उमेर किटान गर्ने गरिन्छ । जस्तो कि कुनै एकजना मान्छे असी वर्षमा म¥यो । समाजको लागि, मानव कल्याणको लागि उसले बाँचेको उमेरको आधा हिस्सा जति योगदान भएको भन्ने ठहर भयो भने समाधि स्तम्भमा असी वर्षसम्म बाँचेको त्यस व्यक्ति चालिस वर्षमा निधन भयो भनि लेख्ने गर्छन् । यसको अर्थ चालिस वर्ष सार्थक भयो र बाँकी चालिस वर्ष मृत्युतुल्य भयो भन्ने सामाजिक मूल्याङ्कन हो । त्यस गाउँमा एकजना पर्यटक गाइडसँग पुगेछन । समाधिस्थलमा रहेका सबै स्तम्भमा लेखेको देखेर अचम्म मानेर त्यस पर्यटकले गाइडसँग सोध्यो “नब्बे वर्षसम्म बाँचेको मान्छे पैंतालिस वर्षमा कसरी मरेको हुन्छ ? नब्बे वर्षसम्म बाँचेको मान्छेको मृत्यु त नब्बे वर्षमै हुनुपर्ने होइन ? जवाफमा गाइडले त्यहाँको समाजको परम्पराको बारेमा सुनाए । गाइडको कुरा सुनेर पर्यटकले लामो सास तानेर भन्यो “ओहो ! अहिले यतिकै म मरेँ भने मेरो समाधिस्तम्भमा त मेरो मृत्यु नै जन्मेको भनेर लेख्नुपर्ला ।
यस प्रसङ्गले सार्थक जीवनको लागि त्याग र समर्पण नै खोजेको छ । निस्वार्थ जीवन नै खोजेको छ । मानव कल्याणबिनाको, समर्पणबिनाको सम्पन्नताको कुनै अर्थ छैन । त्यस्तो जीवन मृत सरह हुन्छ भन्ने कुरा यो प्रसङ्गबाट प्रष्ट बुझ्न सकिन्छ । तर धेरै मान्छे निजी स्वार्थको लागि सम्पन्नता खोज्छन् । अरूभन्दा तल नपरोस् भनेर माथि पुग्नको लागि मरिहत्ते गर्छन् । अरूमाथि हैकम चलाउन खोज्छन् । रागमा बाँच्छन् र जीवनभर अतृप्त भई मर्छन् । यदि तपाईँको धनले कसैको आँसु पुछ्न सक्दैन भने, यदि तपाईँको ज्ञानले कसैलाई बाटो देखाउन सक्दैन भने त्यस्तो धनको, त्यस्तो ज्ञानको कुनै अर्थ हुँदैन । यदि तपाईँको जीवनमा मानवता नै रहेन भने तपाईँको उपादेयता कसरी साबित हुनसक्छ ? तपाईँसँग ज्ञान हुनु र नहुनुमा के फरक ? तपाईँ सम्पन्न हुनु र नहुनुमा के फरक ? तपाईँ जन्मनु र नजन्मनुमा कसलाई के मतलब ? धेरै मान्छे यही भिन्नताबिना नै बाँच्छन् र मर्छन । जीवनको मूल्य नखोज्दै बाँच्छन र मर्छन पनि । यस्तो जीवन त पशु सरह नै हो । मानव त विवेकशील प्राणी, चेतनशील प्राणी, उच्चकोटिको प्राणी । दार्शनिक सुकरात भन्नुहुन्छ, ‘बुद्धि मानवको सबैभन्दा ठूलो तागत हो’ । गौतम बुद्ध भन्नुहुन्छ, ‘बुद्धिहिन मानव पशु सरह हो’ । पशु सरहको जीवन कसरी सार्थक बन्नसक्छ ? जसको न जन्मको लेखाजोखा हुन्छ, न मृत्युकै हिसाबकिताब हुन्छ, यस्तो जीवन निर्रथक हुन्छ । अतः चेतनाको जीवन मात्र सार्थक हुन्छ । त्यसैले अन्र्तमुखी भई जीवन र यसको कर्तव्यलाई बुझ्ने कोशिस गरौँ र सार्थक जीवन बाँच्ने प्रयास गरौँ । क्रमशः