प्रधानमन्त्री प्रचण्डको संयोग : तेस्रो दल, तेस्रो गठबन्धन र तेस्रोपटक विश्वासको मत

16k Shares

काठमाडौं । संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै कार्यकालमा तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन गरी तेस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ।

यसअघि २०७९ पुस २६ गते पहिलोपटक र सोही वर्षको चैत्र ६ मा दोस्रोपटक संसद्बाट विश्वासको मत प्राप्त गर्नुभएका प्रधानमन्त्री प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाउनुभएको हो ।

प्रधानमन्त्री भएको १४ महिनामा तेस्रोपटक उहाँलाई १ सय ५७ सांसदले विश्वासको मत दिएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्ने भए पनि तत्काल उपस्थित संख्या २ सय ६८ मध्ये उहाँको पक्षमा ५८ दशमलव ५८ प्रतिशत समर्थन प्राप्त भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो।

प्रधानमन्त्री प्रचण्डको पक्षमा पहिलोपटकको तुलनामा यसपटक संसद्को ४० दशमलव ६७ प्रतिशत मत घटेको छ भने दोस्रोपटकको तुलनामा ५ दशमलव ६ प्रतिशत मत कम भएको संसद् सचिवालयको भनाइ छ।

आम निर्वाचनअघि नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रतिनिधिसभामा ३२ सिट प्राप्त गरेको माओवादीले चुनावपछिको सरकार निर्माणमा संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितको सात दलीय गठबन्धन गरेर सरकार बनाएको थियो।

२०७९ को पुस १० गते एमालेको प्रस्तावमा रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनाएर पुस ११ मा प्रधानमन्त्रीको सपथ लिनुभएका माओवादी अध्यक्ष प्रचण्डले पुस २६ मा सदनमा विश्वासको मत लिनुभएको थियो।

त्यतिबेला उहाँले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाउने प्रधानमन्त्रीको सूचीमा आफूलाई दर्ता गराउन सफल हुनुभयो। उहाँलाई प्रतिपक्षी बेन्चमा बसेको नेपाली कांग्रेससमेतले मतदान गरेपछि विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २ सय ६८ र विपक्षमा दुई मत परेको थियो। बैठकमा कुल २ सय ७० सांसदले मतदान गरेका थिए। यो संख्या संसद्मा उपस्थित कुल संख्याको ९९.२५ प्रतिशत थियो । आजको समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार