काठमाडौं/नेपाली विद्यार्थीलाई उद्धार गरेर ल्याइएको नेपाल एयरलाइन्सको विमान आज राति १ बजे विमान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुने भएको छ । यसको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।
इजरायलबाट उद्दार गरिएका नेपाली लिएर आएको विमान विमानस्थलमा अवतरण गरेपछि परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारमाध्यमलाई छोटो सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
इजरायलबाट २५४ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आउँदै छ । विमानमा परराष्ट्रमन्त्री साउदसहित २५४ जना यात्रु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२५४ मध्ये करिब २५० जना द्वन्द्वको चपेटामा परेका विद्यार्थी रहेको बताइएको छ । हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका छन् । यस्तै केही नेपाली घाइते भएका छन् ।