'टीका चाम्लिङ एकल सांगीतिक साँझ-२०८०' भव्यताका साथ सम्पन्न

22.2k Shares

काठमाडौँ । कवि, गीतकार तथा संस्कृतिकर्मी टीका चाम्लिङ 'एकल सांगीतिक साँझ-२०८०' सम्पन्न भएको छ । गीति साहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौँ उपत्यका उपसमितिको आयोजनामा काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा असोज १९ गते शुक्रबार दिउँसो साँढे दुइ बजे गीतकार चाम्लिङको कविता तथा गीत वाचनका साथ एकल सांगीतिक साँझ ‘संँहँमा स्वर्णिम साँझ’ भव्यताका साथ सम्पन्न भएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा/प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका चाम्लिङको यो पहिलो एकल सांगीतिक साँझ हो ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो भने नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको बिशिष्ट आतिथ्य तथा वरिष्ठ संगीतकार प्राज्ञ अशोक लोहोरुङ राईको संयोजनमा प्रस्तुत हुने सांगीतिक साँझमा गायक/गायिकाहरू राजेशपायल राई, सत्यकला राई, राई नीवन,  सीडी विजय अधिकारी, मेलिना राई, अशोक मुकारुङ, रुपकुमार राई, सञ्जय तुम्रोक, सबु राई, सरिता राई आङबुहाङ, मनिशा अधिकारी राई, खुसी थुलुङ, शशिका राई सुनुवार, विनुसा राई, पूर्णिमा ठटाल, सविता चोङबाङले गीतकार चाम्लिङका चर्चित गीतहरूमा प्रदर्शन गरेका थिए । त्यस्तै नृत्य निर्देशक कमल राई र सुमित गुरुङको निर्देशनमा उपासना नेम्बाङ, चरना सिवाकोटी, विमला लिम्बू र स्वर्णिमा राईले गीतकार चाम्लिङकै गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

आयोजित कार्यक्रमकाे अवसरमा प्राज्ञ चाम्लिङको काव्यकृति ‘बागी कविता’को समेत विमोचन गरिएकाे थियाे । वि.संं. २०३० माघ ४ गतेका दिन खोटाङको साबिक नुनथला गाविस–५, हाल दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका वडा नं. १३, खाम्लामा आमा दिलकुमारी राई र आपा रोजबहादुर राईका ज्येष्ठ छोराका रूपमा यस धरतीमा जन्म लिएका उनी पूर्णकालीन कवि हुन्, गीतकार र संस्कृतिकर्मी हुन् ।

विशेष गरी गीत, कविता र यात्रा संस्मरण विधामा कलम चलाउने उनका सधैंभरि (गीति अडियो–२०५८), राखौँ सम्झना (लोक जुहारी शब्द सङ्कलन–२०५९), सोमबारे हाटैमा (लोक जुहारी शब्द सङ्कलन– २०५९)  गीति एल्बमका साथै सपनाको रङ (गीतिकाव्य कृति– २०६०), समयको रङ  (गीतिकाव्य– २०६४), जूनको बस्ती (गीतिकाव्य– २०६८) र मुन्दुम र मालिङ्गो (गीतिकाव्य कृति–२०७१) प्रकाशित छन् । बागी कविता (कविता काव्य कृति–२०८०) उनको कविता विधा तर्फको पहिलो कृति हो । यसका अतिरिक्त उनका दुई सय जति गीत विभिन्न चर्चित गायकरगायिकाका स्वरमा  स्वराङ्कन भएका छन् र छायाङ्कनसमेत गरिएका छन् । 

4.jpg3.jpg2.jpg5.jpg1.jpg7.jpg6.jpg9.jpg

सम्बन्धित समाचार