काठमाडौं, १९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष रोशन थापाले युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिन लागेको बताएका छन्।
थापाले अभियानमा आफूभन्दा धेरै खट्ने अर्काे व्यक्ति आए चुनाव नलड्ने पनि बताए।
‘अभियानमा लामो समयदेखि सक्रिय छु। काम गर्ने क्रममा केही अनुभव पनि बटुलेको छु,’ उनले भने, ‘यो सामाजिक संस्थामा म नै हुनुपर्छ भन्ने छैन । यदि मभन्दा धरै काम गरेका र गर्नसक्ने साथीहरू हुनुहुन्छ र आउनुहुन्छ भने म तगारो भने बन्दिनँ ।’ थापाले आफूलाई निर्वाचित भएर काम गर्ने इच्छा भएको बताए। ‘अहिलेको त कार्यकाल फाटेको मन टाल्ने र सिलाउनेमै बित्यो। निर्वाचित भएर काम गर्ने इच्छा,’ उनले भने।
अघिल्लो कार्यकालमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिए पनि निर्वाचन हुन नसक्दा आफ्नो नाम बहुपदीय प्रणालीमा निर्विरोध सूचना पाटीमा आएको बताए ।‘अघिल्लो कार्यकालमा मैले युवा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ। निर्वाचन प्रक्रियामा पनि भाग लिएको थिएँ। तर, निर्वाचन हुन नसकेर निर्विरोध भनेर सूचनापाटीमा मेरो नाम पनि टाँसियो। त्यसपछि के भयो भन्ने कुरा हामी सबैलाई अवगत नै छ,’ अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आयोजना गरेको चुनावी सभामा उनले भने, ‘हामीले यो डेढ वर्षे कार्यकाल फाटेको मन टाल्ने सिलाउनेमै बित्यो । मलाई एक कार्यकाल यहाँहरूबाट निर्वाचित भएर काम गर्न एकदमै मन छ । म संस्थामा काम गरेर देखाउनेछु।’
उनले एनआरएनएमा गर्नुपर्ने काम धेरै रहेको बताए। आफू निर्वाचित भएर आइसकेपछि युवा तथा विदेशमा हुर्किंदै गरेको दोस्रो पुस्ताका लागि काम गर्ने उनको भनाइ छ। ‘धेरै काम गर्नु पर्नेछ। विशेषगरी युवा विभागका निति नियमहरु पनि धेरै बनाउनु पर्नेछ। दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने कुराहरुदेखि लिएर ठूलो संख्यामा अहिले बाहिर गइरहेका युवालाई मुलधारमा कसरी ल्याउने भन्ने सवाल छ,’ उनले भने।
उनले अगाडि थपे, ‘विदेशमा कमाएको पुँजीदेखि लिएर खेलकुदको क्षेत्रमा पनि एनआरएनएले उल्लेख्य काम गरेको छ। खेलकुदका क्षेत्रमा आइसीसीदेखि एनसीसीसम्म कसरी पुग्न सकिन्छ भन्ने मुद्धाहरु छन्। यसमा मैले काम गर्नेछु।’ उनले आफू एनआरएनएमा तल्लो तहदेखि काम गर्दै आएकाले गैरआवासीय नेपालीका मुद्धालाई जरैदेखि बुझेको बताए।
‘म पनि अनुभवका आधारमा ग्राउण्ड लेवलबाटै आएको हुँ। एनआरएनए अभियानमा तल्लो लेवलदेखि काम गरेको छु। अमुल्य मत दिएर संस्थामा सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने। विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।
दुई दशकअघि अध्ययनका लागि जापान पुगेका थापा सफल व्यवासायी बनेका छन्। थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन्। उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी हुन्।
थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ। थापासँग यसअघि एनआरएनए ताम्जिानियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ। उनले एनआरएनए अफ्रिकी क्षेत्रको नेतृत्व समेत गरेका थिए।