इन्डोक्राइनोलोजी भनेको के हो ?
इन्डोक्राइनोलोजी भनेको शरिरमा उत्पादन हुने बिभिन्न इन्डोक्राइन हर्मोन र यसबाट सिर्जित समस्या, रोगहरु र यसको उपचारको बारेमा अध्ययन गर्ने एउटा मेडिकल साइन्सको विषय हो । हर्मोन रोगको उपचारको बारेमा बिशेषज्ञता लिने फिजिसियन र चिकित्सकलाई इन्डोक्राईनोलोजिस्ट अथवा हर्मोन रोग बिशेषज्ञ भनिन्छ ।
हर्मोन के हो र हाम्रो शरिरमा यसले के काम गर्छ ?
सामान्यतया हाम्रो शरिरमा धेरै किसिमको हर्मोनहरु शरिरको आवश्यकता अनुसार धेरैथरी ग्रन्थिबाट बनेको हुन्छ । हर्मोनहरु एक किसिमको केमिकल हो जुन ग्रन्थिहरुबाट पैदा भएर रगतको माध्यमबाट शरिरमा बिभिन्न काम गर्दछ । जस्तै शारिरिक र मानसिक बिकास र बृद्धि, पचन पाचन्, यौन र प्रजनन् स्वास्थ्य, शरिरको तापक्रम र पानीको सन्तुलन इत्यादी । कुनैपनि हर्मोनको स्तर अलिकति पनि कम वा धेरै भएमा बिभिन्न समस्याहरु निम्तन सक्छ । कति रोगहरु व्यापक छन् कति बिरलै देखिन्छन् ।
यस्ता ग्रन्थिहरु कहाँ हुन्छन् ?
टाउकोमा अवस्थित पिटुईटरी र हाईपोथालामस ग्रन्थिहरु शरिरमा हुने धेरै मुख्य हर्मोनहरु जस्तै ग्रोथ हर्मोन्, प्रोल्याक्टिन, एड्रीनोकर्टिकोट्रफिक हर्मोन पैदा गर्दछ र यि दुई ग्रन्थिहरुले अरु ग्रन्थिहरुलाई पनि नियन्त्रण गरिराखेको हुन्छ । हाम्रो गलामा अवस्थित थाइरोइड र प्याराथाइरोइड ग्रन्थिले थाइरोइड र प्याराथाइरोइड हर्मोन पैदा गर्छ । पेटमा अवस्थित अग्न्याशय अथवा प्यान्क्रीयाज ग्रन्थीबाट बन्ने धेरै हर्मोन मध्य इन्सुलिन एउटा मुख्य हर्मोन हो । जसको अभाव अथवा निष्क्रीयताको कारण मधुमेह हुने गर्दछ । मृगौलाको माथिल्लो भागमा अवस्थित एड्रीनल ग्रन्थिले बिभिन्न किसिमको स्टेरोइड हर्मोन उत्पादन गर्दछ त्यसैगरी अण्डाशय र टेस्टिजबाट सेक्स हर्मोनहरु जस्तै इस्ट्रोजेन, टेस्टोस्टेरोन हर्मोन पैदा गर्छ ।
हर्मोन गडबढीले हुने रोग र समस्याहरु के के हुन् ?
हरेक हर्मोनको आफ्नै बिशेषता र काम हुन्छ । कुनैपनि हर्मोनको मात्रामा कम वा धेरै वा निष्क्रीय भएमा, शरिरमा बिभिन्न किसिमको समस्या हुनसक्छ । त्यसैगरी बिभिन्न ग्रन्थिहरुको ट्युमर अथवा क्यान्सर पनि हुनसक्छ ।
इन्सुलिन हर्मोन कम वा निष्क्रीय भएमा रगतमा सुगरको मात्रा बढेर मधुमेह हुन्छ । जुन संसारभर माहामारिको रुपमा फैलिएको छ । त्यसैगरी इन्सुलिन धेरै भए सुगर कम हुन्छ जसलाई हामी हाईपोग्लाईसेमिया भन्छौं । सुगर कम हुँदा हामीलाई बिशेषगरी खाली पेटमा अकस्मात पसिना आउने, शरिर काप्ने, लाल्याक्लुलुक र थकान हुने र केहि गुलियो अथवा खानेकुरा खाएपछी ठीक हुने हुन्छ ।
मधुमेह सँगै मोटोपना र कोलेस्टेरोलको समस्या पनि डरलाग्दो रुपमा फैलिएको छ । जुन मुख्य रुपमा अस्वस्थ खानपान, शारिरिक निष्क्रीयता, तनावयुक्त जिवनको उपज हो । यसका अन्य कारण वंशाणुगत र हर्मोनको गडबढीको कारण पनि हुनसक्छ । यि तिनै रोगहरुले मुख्यत मुटु, मृगौला, आँखा, कलेजो आदीमा बिभिन्न रोगहरु निम्त्याउन सक्दछ ।
थाइरोइड हर्मोनको समस्यामध्ये बिशेषगरी थाइरोइड हर्मोनको कमी वा हाईपोथाईरोइडिजम् व्यापक रुपमा देखिने गरेको छ । जसमा हातखुट्टा सुन्निने, छाला फुस्रो हुने, तौल बढ्ने, कब्जियत, अल्छीपना, धेरै निन्द्रालाग्ने, धेरै जाडो महसुस हुने, हातखुट्टा दुख्ने, महिलाहरुमा महिनावारी गडबढी अथवा बाँझोपन हुने, बच्चा तथा किशोरहरुमा धेरै दिनसम्म जन्डिस हुने, राम्रोसँग नखाने, कम रुने, कम खेल्ने, मानसिक तथा शारिरीक विकास कम हुने, स्वतता, यौवन अवस्थाको विकासमा समस्या हुने हुन्छ । अर्को भनेको थाइरोइड हर्मोन बढी वा हाइपरथाइरोइडिज्म हुनु हो । जसमा भोक राम्रो भएपनि दुब्लाउँदै जाने, स्वभाबिकभन्दा धेरै पसिना आउने, मुटु ढुकढुक हुने, धेरै चोटी दिशा हुने, शरिर काप्ने, छटपटी र निन्द्रा कम हुने हुन्छ । त्यस्तै थाइरोइड सम्बन्धीमा अरु समस्या हुने भनेको गलगाँड, थाइरोइडमा डल्लोहरु आउने, क्यान्सर हुनसक्छ ।
पोलिसिस्टिक ओभ्यारियन सिन्ड्रोम व्यापक रुपमा देखिएको अर्को हर्मोन सम्बन्धी समस्यामा हो । जुन ९ देखी २२ महिला मध्य १ जना महिलाहरुमा देखिने गरेको छ । अस्वस्थ खानपान (जंक फुड्स्, प्रशोधित खानेकुरा) र शारिरीक निस्क्रियता नै यस रोगको मुख्य कारण हो । महिलाहरुमा अनियमित महिनावारी अथवा असामान्य रक्तश्राव, तौल बढ्दै जाने, शरिरमा अवान्छित रौं, बाझोँपन, धेरै डन्डिफोर आउनु, ईन्सुलिन रेजिस्टेन्स्स् पेट मोटाऊदै जानु, घाँटी कालो हुँदै जानु, सुगर, प्रेसर तथा कोलेष्टेरोलको समस्या देखिनु, पुरुषको जस्तो कपाल झर्दै जानु अन्डाशयमा सानो सानो धेरै सिस्ट (पानीको फोका) देखिनु यस रोगको लक्षणहरु हुन् । ५० प्रतिशत पिसिओएसको महिलाहरु अझैपनि पहिचानबाट टाढा छन् । पिसिओएस समयमा उपचार अथवा नियन्त्रण नगरे डिप्रेशन्, मोटोपना, मधुमेह, पाठेघरको क्यान्सर, कलेजोरोग र मुटुरोग हुनसक्छ ।
हर्मोन कमीका कारण शरिरको कुन कुन भागलाई असर गर्ने गर्छ ?
प्याराथाइरोइड हर्मोनले हाम्रो रगत र हड्डीमा हुने क्याल्सियमलाई सन्तुलनम राख्ने काम गर्दछ । यदि यस हर्मोनको कमी भएमा क्याल्सियम कम हुन्छ जसलाई हामी हाइपोक्याल्सेमिया भन्छौं । जसमा हातखुट्टा र मुख वरिपरि झमझम्याउने, हातहरु बाउडिने, बच्चाहरुमा साँस फेर्न गाह्रो हुने, मृगीरोग जस्तो हुने हुन्छ त्यसैगरी हर्मोन धेरै भएमा हाइपरक्याल्सेमिया हुन्छ । जसमा रगतमा क्याल्सियम धेरै हुने हड्डी, शरिर दुख्ने र घरिघरि भाँच्चिने, कमजोरी र आलस्यपन, प्यास धेरै लाग्ने, पिसाब धेरै लाग्ने, घरिघरि मृगौलामा पत्थरि हुने, पेट दुखिराख्ने समस्याहरु हुन्छ ।
त्यस्तै अर्को होर्मोन हो भिटामिन डि, यसको कमिले हड्डीहरु कमजोर गराउने, क्याल्सियम कम हुने, शरिर दुख्ने हुन्छ र धेरै भएमा क्याल्सियम धेरै हुन सक्छ । बिभिन्न हर्मोन जस्तै थाइरोइड, प्याराथाइरोइड, स्टेरोइड आदीको कारणले हड्डी खिईने समस्या हुन्छ जसलाई हामी ओस्टिओपोरोसिस भन्छौं । हड्डी खिईने समस्याको अर्को मुख्य कारण महिलाहरुमा महिनावारी बन्द भएर इस्ट्रोजेन हर्मोनको कमी हुनु हो । (एयकतmभलयउबगकब िइकतभयउयचयकष्क) र यो एउटा उमेर भएको मानिसमा हड्डी बिशेषत ढाँड र हिप भाँच्चिनुको मुख्य कारण पनि हो ।
स्टेरोइड हर्मोन धेरै भयो भने पेट मोटाउने तर हातखुट्टा सुक्ने, छाला पतालो हुने, बसेर उठ्न गाह्रो हुने, छालामा रातो फाटेको दागहरु देखिने, सुगर प्रेसर हुने आदी हुनसक्छ जसलाई हामी कुशिङ सिन्ड्रोम ९ऋगकजष्लन क्थलमचयmभ० भन्छौ जुन पिटुइटरी अथवा एड्रीनल ग्रन्थिको ट्युमर अथवा कुनै रोग अथवा मोटाउनको लागी भनी जथाभावी प्रयोग गर्दा हुने गर्छ । त्यसैगरी स्टेरोइड हर्मोन कम भयो भने शरिर कालो हुँदै जाने, अत्याधिक थकान्, प्रेसर घट्ने, चक्कर लाग्ने, दुब्लाउने आदी हुनसक्छ जसलाई हामी एड्रीनल इन्सफिएन्सी भन्छौं ।
बिरलै देखिने हर्मोन सम्बन्धि रोगहरु के के होलान् ?
यौवनअवस्था (लिङ्ग विकास, बक्षस्थल विकास, गुप्ताङ्गको रौं विकास, शारिरिक विकास, महिनावारी आदी) ढिलो विकास हुने अथवा चाँडो विकास हुने समस्याहरु हर्मोनको कारणले हुने गर्दछ ।
बच्चाहरुमा कद विकासमा हुने समस्याहरु जस्तै समकक्षीभन्दा उच्चता कम हुने र समकक्षी भन्दा उच्चता बढि हुने ग्रोथ हर्मोन, थाइरोइड हर्मोन अथवा अन्य समस्याको कारणले हुनसक्छ । किशोरअवस्था पछि ग्रोथ हर्मोन धेरै भएमा एक्रोमेगाली हुनसक्छ । जसमा नाक, कान, जिब्रो र अनुहारको आकार बढ्दै जाने, हात र खुट्टाको आकार बढ्दै जाने, छाला खस्रो र चिल्लो हुने, धेरै पसिना आउने, टाउको दुख्ने, दृष्टिमा समस्या, शरिरमा सानो सानो मासु पलाउने आदि हुनसक्छ, र यस्तो रोग धेरै जसोमा पिटुइटरी ग्रन्थिमा ट्युमरको कारणले हुने गर्दछ ।
महिलाहरुमा कुनै कारणले पुरुष हर्मोन बढेर शरिर पुरुषको जस्तो हुने, स्वर गाँढा हुँदै जाने, बक्ष्यस्थल सुक्दै जाने, महिनावारी बन्द हुने, पुरुषको जस्तो दाह्री जुङ्गा पलाउने त्यसैगरी पुरुषमा पनि महिला हर्मोन बढेर महिला जस्तो शारिरिक बनावट हुने समस्याहरु हुनसक्छ ।
पुरुषहरुमा बक्षस्थल बढ्ने समस्या जसलाई गाईनेकोमास्टिया भनिन्छ, वक्षस्थलबाट दुध चुहिराख्ने, महिनावारिमा समस्या हुने (सुरु नहुने, भएकोमा पनि चाढैँ बन्द हुने, समयमा नहुने, धेरै रगत जाने) प्रोल्याक्टिन हर्मोन बढेर हुनसक्छ र पुरुष तथा महिलाहरुमा बाँझोपनको समस्याहरु पनि हर्मोनको गड्बढीले सिर्जित हुनसक्छ ।
यौन सम्बन्धि समस्याहरु (उत्तेजना नहुने, शिघ्र स्खलन, सम्भोग गर्दा दुख्ने समस्या) हर्मोनको गड्बढीले हुनसक्छ । बच्चा गर्भधारणकै बेला हर्मोनमा केही समस्या भयो भने, जन्मजात हर्मोन उत्पादनमा त्रुटि भयो भने कहिलेकाँही बच्चाहरु पुरुष नै जन्मिएपनि महिला जस्तो देखिने अथवा महिला नै जन्मिए पनि पुरुष जस्तो देखिने, लिंग निर्धारण गर्न नसकिने (पुरुष हो कि, महिला हो) हुनसक्छ ।
हर्मोनको कारणले रगतमा नुन (सोडियम र पोटासियम) को मात्रा कम वा धेरै हुने समस्याहरु हुनसक्छ । सानै उमेरमा उच्च रक्तचाप देखिने, धेरै थरिको औषधी सेवन गर्दा पनि नियन्त्रण नहुने, अत्यधिक रक्तचाप, रक्तचापसँगै पोटासियमको मात्रा निरन्तर कमी देखिने समस्याहरु हर्मोनको कारणले सिर्जित उच्च रक्तचाँप हुनसक्छ ।
हर्मोन सम्बन्धी रोगको अवस्था नेपालमा कस्तो छ ?
जति हामीले माथि कुरा ग¥यौं, सबै रोग त्यति ब्याप्त त होइन कति बिरलै हुनेगर्छ । तरपनि कति समस्याहरु हाम्रो समुदायमा लुकेका छन् । कतिलाई भन्न अथवा देखाउन लाज लागेर आइरहेको छैन । जुन कति रोगहरुको उपचार पनि सम्भव छ ।
सबैभन्दा ब्यापक देखिएको मधुमेह, महामारिको रुपमै फैलिएको छ । नेपालमा यसको व्यापकता ८ प्रतिशतको हाराहारीमा छ भने घरघरमा मधुमेहको बिरामी भैसकेको छ । त्यसैगरी मधुमेह सँगै देखिने मोटोपना र कोलेस्टेरोलको समस्या पनि उत्तिकै ब्यापक छ । यि रोगहरुको जड प्रयाप्त अस्वस्थ खानपान र शारिरिक निस्कृयता नै हो र हामीले यस्ता रोग र हुने भवितव्यहरुलाई जनचेतनाको माध्यमबाट कम गर्न सक्छौ ।
थाइरोइडमा हुने समस्याहरुको नेपालमा व्यापकता ४ देखी ५ प्रतिशतको हाराहारिमा देखिएको छ जसमा थाइरोइड कम हुने समस्या (हाइपोथाइरोइडिजम्) २ देखि ३ प्रतिशतको हाराहारिमा पाईएको छ र महिलाहरुमा धेरै हुने गर्दछ ।
त्यसैगरी पिसिओएस ९ देखि २२ प्रतिशत किशोर र तरुण अवस्थाका महिलाहरुमा देखिने गरेको छ तर लाज र संकोच र जनचेतनाको अभावले ५० प्रतिशत भन्दा धेरै यस्ता विरामीहरुको पहिचान हुन सकेको छैन ।
हर्मोनसम्बन्धी रोगहरुको उपचारको बिधिहरु केही छन् कि ?
मधुमेहकै बारेमा कुरा गर्दा, यो एउटा मल्टिडिसिप्लिनरी म्यानेजमेन्ट गर्नुपर्ने रोग हो, भनेको मधुमेहरोग विशेषज्ञले मात्र भन्दा पनि मुटुरोग विशेषज्ञ, किड्नीरोग विशेषज्ञ, नसारोग विशेषज्ञ, आँखारोग विशेषज्ञ, न्युट्रीसनिष्ट्, नर्स आदिको संयुक्त समन्वय हुनुपर्छ । हामीसँग डेडिकेटेड टिमको अभाव छ । जनचेतनाको कार्यक्रमहरुलाई प्रभावकारी बनाउनुपर्छ । कति विरामीहरु औषधी खानुपर्नेमा बन्द गरिराखेको हुन्छ, कोही पैसाको अभावले, कोही चेतनाको अभावले, कोही इन्सुलिन जस्तो सुईबाट औषधी लिँदाको त्रासले, कोही औषधिको अभावले आदि ।
मधुमेह, उच्च रक्तचाँप, कोलेस्टेरोल, मोटोपना जस्त रोगहरुको पहिचान र रोकथाममा जोड दिनुपर्दछ जुन माथिल्लो निकाय देखिनै सुरु हुनुपर्दछ । परिवारमा एक जना मधुमेह लागेर मनौ मृगौला बिग्रेर डायालाईसिस गर्नुपर्दा आफुलाई नै देखि लिएर परिवारको सदस्य, समाज र देशलाई पनि उत्तिकै भार पर्दछ, आर्थिक भार, मानसिक भार, शारिरिक भार, सामाजिक भार आदि । समयमै उपचार गर्दा यस्ता रोगहरुबाट हुने भवितव्यहरु जस्तै आन्धोपना, हार्ट एटाक अथाव मुटुरोग, मृगौला फेल, खुट्टामा घाउँ भएर खुट्टा काट्नुपर्ने समस्याहरुबाट बच्न सकिन्छ र अन्य मानिसहरु सरह जिवनयापन गर्न सकिन्छ ।
पहिचान बाहेक अर्को समस्या भनेको रोग पत्ता लगाउँन चाहिने अन्य उपकरणहरुको कमी र स्पेसिफिक इन्डोक्राइन ल्याबको कमी हो । बिभिन्न हर्मोनको परिक्षा गर्न महँगो छ र जहिँतही हुँदैन । यसले गर्दा कति रोगहरुको पहिचानमै बाधा बनिदिन्छ ।
पिसिओएस रोगको हालत पनि त्यस्तै छ । जंक फुड्स र शारिरिक निस्क्रीयता नै यसको मुख्य कारण भएकोले, यस्ता कुरा ठिक गर्नाले मात्रै ठिक हुने रोग हो । तर उहि पहिचानकै कमिले भनौं धेरै महिलाहरुको बाँझोपनको कारण पिसिओएस बनेको छ ।
कति यस्ता रोगहरु छन् जुन समाजमा हुने घृणाले गर्दा, लाज र संकोचले गर्दा, डर र तिरस्कारले गर्दा डाक्टर देखाउन चाहँदैनन् जस्तै यौनाङ्ग विकासको समस्याहरु, महिलाहरुमा वक्षस्थल र महिनावारी विकासका समस्याहरु, लिङ्ग निर्धारणको समस्याहरु आदि । हर्मोन सिर्जित समस्याहरु मध्ये कतिपय रोगहरुको उपचार सम्भव छ भने कति रोगहरुको उपचार नभए पनि त्यस रोगबाट सिर्जित अन्य जटिलताहरुको पहिचान र उचित निराकरण र रोकथाम गर्न सकिन्छ । कतिपय हर्मोन रोग पत्ता लगाउन एक पछि अर्को गर्दै जाँच गर्नुपर्ने हुन्छ जसले गर्दा विरामीहरु थकित भएर अथवा आर्थिक अभाव भएर रोग निदान गर्न बाधा हुन सक्छ ।