सुरक्षाकर्मीकै मिलोमत्तोमा रौतहटमा व्यापक तस्करी

23k Shares

रौतहट । रौतहटका अधिकांश नाकाबाट तस्करी हुने गरेको छ । भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ । भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी भइरहेको छ । रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन् । प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ । साइकल र मोटरसाइकलमा तस्करीको सामान ल्याउने र सीमा वारी ल्याएपछि ठूलो ढुवानी साधनमा विभिन्न भागमा पठाउने गरिएको देखिएको छ । 
तस्करी रोकेको दाबी गरिरहेपनि रौतहटको विभिन्न नाका भएर अझै पनि खुलेयाम तस्करी भइरहेको छ । भारतसँग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिङ्गमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेको छ । सशस्त्र प्रहरीका युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको विभिन्न स्रोतले बताएका छन् ।
रौतहटको बंकुल, नरकटिया, रमपुर्वा, मोतीपुर, जयनगर, घिउरा, मठिया, महुलिया, चमटोली, लक्ष्मीपुर बेलविछ्वा, ब्रम्हपुरी, तथा बंन्जरहाबाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् । सशस्त्र प्रहरीको मिलोमतोमा सङ्गठित रुपमा तस्करी भइरहेको छ । कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, कुखुरा , कस्मेटिक, हार्डवेयर, बिडी बनाउने सुख्खा,चप्पल लगायतका समाग्रीहरु भारतबाट नेपालमा भित्रिने गरेको छ भने नेपालबाट मदिरा रक्सी, गांजा, छोगड़ा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । सुरक्षा निकायहरु उक्त कार्यमा मौन समर्थन जनाएका छन् । नाकाबाटै तस्करी भएर आएको सामान गढवामा रहेको बसपार्कसम्म पुग्ने गरेको छ । भन्सारदेखि बसपार्कसम्म झण्डै आधा दर्जन प्रहरीका पिकेट पार गरेर जाँदा जाँचमा खटिएका प्रत्येक सुरक्षाकर्मीले रकम बुझ्ने गरेको स्थानीयहरू बताउँछन् ।
तस्करी कार्यमा भंसार, सशस्त्र प्रहरी, चौकी इंन्चार्जहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको छ । सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी झन् बढेर गएको स्थानीयहरू भनाई छ । सशस्त्र प्रहरीको संरक्षणमा सदरमुकामभन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरीबाट सबैभन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन् । लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको बताइन्छ । सदरमुकामभन्दा पूर्वपट्टी रहेको बेलबिछवा र सँगैको ब्रह्मपुरीबाट भारतीय गाउँ आदमबान र मुसाचकसम्म तस्करहरूले मदिरा लैजाने गर्छन् । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागि बदनाम यो ठाउँमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।
महादेवपट्टी नाकाबाट तस्करीको लाइन पाउनेहरूमा सुरज पट्टेल, किशोरी यादव, मोहनीवाली मुख्य छन् । यिनीहरूले कपडाको ठूलो तस्करीको लाइन चलाएका छन् । त्यसैगरी औरयाबाट तस्करीको लाइन पाउनेमा अमरजीत साह कपडा, नवल साह खैनी, हार्डवेयर, प्रमोद चिनी मुख्य रहेका छन् । रामपुरखापबाट रहिस, बर्कतलगायतको सूर्ति, हार्डवेयर, कपडा, भैसीको तस्करीको लाइन चलेको छ ।
बंकुल नाकाबाट बच्चेलाल खैनी, रूपेश साह किराना, राजाबाबु कपडा, मोतिम कुखुराको चल्लाले तस्करीको लाइन पाएका छन् । बेलबिछुवा नाकाबाट संजय साह, सुरेश यादव, निरज सिंह, बिरेन्द्र सिंह, डाक्टर, मुकेश पट्टेल, अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन पाएका छन् ।गौर नाकाबाट तस्करीको लाइन पाउनेमा शत्रुधन, मनोज, किरणदेवीको कपडाको धन्दा प्रमुख रहेको छ । सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् ।जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ ।
सशस्त्र प्रहरीको तर्फबाट तस्करी हुने नाकाहरू बंकुलमा असई राम बिश्वास यादव, रामपुरखापमा सई दशरथ अधिकारी र और्यामा असई गणेश बोहरा प्रमुखको रूपमा कार्यरत छन् । उनीहरूलाई तस्कर तथा व्यापारीहरूसंग सेटिङ मिलाइदिने काम ११ नम्बर गण रौतहटका घुमुवा असई अनिल कुमार सिंहले गर्दै आएका छन् । असई सिंह झण्डै ६ बर्ष अघि देखि रौतहटमा कहिले घुमुवा त कहिले कोर्ट माष्टरका रूपमा कार्यरत रहिरहेका छन् । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक भए पछिको घुमुवा हटाउ अभियानमा पनि उनी जोगिएका छन् । अहिले उनी गणको घुमुवाको रूपमा परिचालित छन् । 

सम्बन्धित समाचार