बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी दिएका छन् ।
सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो । चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।
“विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, सुदूर र कर्णलीका सबै विमानस्थलमध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो”, उनले भने । त्यसैले ‘जुम्ला’ विमानस्थलबाहेक सुदूर र कर्णलीमा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले यो अवधिमा मात्रै उडान जोखिममुक्त हुने भएकाले वर्षायाममा विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो ।