काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको हो ।
अघिल्लो आवमा कम्पनीले २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफा ९ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै कम्पनीको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस वितरणयोग्य नाफाको आधारमा कम्पनीको लाभांश क्षमता ५ दशमलव ६४ प्रतिशत रहेको छ । यस वर्षको नाफाबाट एक अर्ब ४६ करोड ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरेको कारण वितरणयोग्य नाफामा कमी देखिएको हो ।
अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयर धनीलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा,मूल्य आम्दानी अनुपात ११ दशमलव १७ गुणा, तरलता अनुपात ३० दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १४ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । त्यस्तै कम्पनीले जगेडामा १० अर्ब ५७ करोड रुपैयाँ र रिटेनड अर्निङमा ७९ करोड ५७ लाख रुपैयाँ सञ्चिति गरेको छ ।
बैंकले जारी गरेको ऋणपत्रको लागि आफ्नो नाफाबाट प्रत्येक वर्ष निश्चित रकम विनियोजन गर्नुपर्ने हुन्छ । यसरी विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई बोनस शेयरको रूपमा वितरण गर्न सकिन्छ । यसर्थ, हाललाई वितरणयोग्य नाफा गणना गर्दा उक्त रकम वितरणयोग्य नाफाबाट घटाइएता पनि ऋणपत्र परिपक्व भएपछि पुँजी फिर्ता जगेडा कोषमा विनियोजित रकम शेयर धनीलाई नै लाभांशको रूपमा वितरण गर्ने गरिन्छ । तसर्थ बैंकको वास्तविक वितरणयोग्य नाफा २ अर्ब २५ करोड अर्थात् १६५ देखिन आउँछ ।
सञ्चालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ । यस अन्तर्गत मुख्यतया विदेशी विनिमय सम्बन्धित आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ । गत आर्थिक वर्षको एघार महिनामा देशको आयातमा १६५ ले कमी आएको छ र यसले गर्दा बैकको विदेशी विनिमय सम्बन्धित आम्दानीमा प्रभाव पारेको देखिन्छ ।