कम्युटर, टिभी र मोबाइलका कारण हड्डी कम्बजोर बन्दै गईरहेको छ

18.3k Shares

पहिला हाडजोर्नी तथा नशा रोगलाई बुढेसकालको रोग भनिन्थ्यो । तर, पछिल्लो समय जुनसुकै उमेरकालाई पनि यो रोग देखिने गरेको छ । खानपान व्यवस्थित नहुने, शारीरिक व्यायाम नगर्ने, मांसपेशी कमजोर हुने, वजन हुने व्यक्तिलाई हाडजोर्नी रोगले सताउने गरेको छ । पछिल्लो समय कम्प्युटर चलाउने, टिभी हेर्ने, मोबाइल चलाउने प्रवृत्ति निकै बढेको छ । यस्ता कार्यमा शरीरले आवश्यक व्यायाम नपाउने भएकाले पनि हाडजोर्नी तथा नशा रोगका बिरामी बढ्दै गइरहेका छन्  । यसै विषयलाई लिएर डा. कार्कीसँग खोजतलास साप्ताहिकले गरेको कुराकानी ः

झण्डै ८० प्रतिशत नेपालीमा कुनै न कुनै बेला ढाड दुख्ने समस्याहरु आउँछन्, के कारणले यस्ता समस्याहरु आउँछन् ?
ढाड दुखाई भन्नुपर्दा हाम्रो हाडजोर्नीको बहिरंग सेवामा ५० प्रतिशतभन्दा बढी विरामीहरु आउने गर्छन् । यस्तो हुनुको मुख्य कारण दैनिक जिवनयापन, बसाई उठाईको शैली, काम दवावका कारण पनि यस्तो समस्या अलि बढी देखिन्छ । 
के कारणले ढाढ दुख्ने समस्या आउँछ ? 
सबैभन्दा पहिलो हामीले बुझ्नुपर्ने कुरा ढाढ के हो, ढाड के कारणले दुख्छ ? मेरुदण्डको हड्डी, त्यो हड्डीको बिचमा हुने नारम मासु जसलाई हामीले डिस्क भनिन्छ, हड्डीहरु जोड्ने लिगामेन्ट र मांशपेसी र हड्डीभित्र जाने मेरुदण्डको मुख्य स्नायु जसलाई हामी स्पाइन्डल कट भन्छौं । त्यहाँबाट निस्कने नसाहरु हुन्छन् । यी मध्ये कुनैमा पनि गडबढी देखिएको खण्डमा ढाड दुख्ने समस्या आउँछ ।
० मांशपेशीको कारण अथवा हाड जोर्नीको कारण अथवा नशा च्यापिएको कारण यी तिन कुरासँग सम्बन्ध छ ढाड दुखाईमा ?
मोटामोटी रुपमा भन्नुपर्दा हामीले ढाड दुखाईलाई तिनवटा क्याटोगोरीमा राख्न सक्छौं । पहिलो भनेको नन्स्पेशिक ब्याक पेन भन्छौं जहाँनिर खासै कुनै कारण थाहा हुँदैन तर ढाड दुखिरहेको हुन्छ । अर्को कुरा भनेको चाहिँ ढाडमा रहेको नशा बाक्लो हुने अनि नशा च्यापिएर ढाड दुख्ने । अर्को भनेको कुनै रोगसँग रिलेटेड जस्तो ट्यूमर, क्यान्सर, नशाको रोग हुनसक्छ ती रोगहरुसँग सम्बन्धित रहने ग्रुपमा डिभाइड गर्न मिल्छ । यस्तो अवस्थामा पनि ढाड दुख्ने समस्या आउन सक्छ ।
मांसपेशी (लिगामेन्ट) भनेको के हो ?
नसा (लिगामेन्ट), टेन्डमलाई पनि नशा भन्ने गरिन्छ । हामी हाडजोर्नी विशेषज्ञले टेन्डम र लिगामेन्ट दुई किसिमलाई मात्रै लिन्छौं । टेन्डम भनेको मासुबाट गएर हड्डीमा छिर्ने । दुईवटा हड्डीलाई जोड्ने (काँटी जस्तो) तन्तुलाई लिगामेन्ट भनिन्छ । लिगामेन्टको धेरै महत्वपूर्ण कार्य हुन्छ । दुईवटा हड्डीलाई जोड्ने काम यसले गरेको हुन्छ । टेन्डम हड्डीमा मात्रै जोडिन्छ । पहिला पहिला प्रविधि नहुँदा लिगामेन्ट सम्बन्धी रोगहरूबारे पत्ता लगाउन गाह्रो हुन्थ्यो । उपचार विधि प्रयोग गर्न पाइँदैनथ्यो । ३०—४० वर्षयता अर्थोपेडिक क्षेत्रमा प्रविधिले ठूलो फड्को मारेको छ । एमआरआई जस्तो प्रविधि आएको छ । त्यो प्रविधिले नशाका सबै खाले रोग पनि पत्ता लगाउने अवस्था बनेको छ । साधारण खुट्टा मर्कियो भने हामी एक्सरे गर्न लगाउँछौ । एक्सरे सामान्य (नर्मल) आयो तर दुखाई कम भएन भनेपछि हामी एमआरआईमा पठाउँछौं । एमआरआईले नशा च्यातिएको पनि देखाउँछ । केही लिगामेन्ट आफैं जोडिने खालका हुन्छन् भने केही नजोडिने खालका हुन्छन् । नजोडिने खालका लिगामेन्टको शल्यक्रिया नै गर्नुपर्छ ।
पछिल्लो समय लिगामेन्ट इन्जुरी बढ्नुमा के कस्ता कारण देख्नुहुन्छ ?
पछिल्लो समय लिगामेन्ट इन्जुरी बढी देखिनुमा खेलकुदमा मानिस बढी सक्रिय हुनु र सडक दुर्घटना पनि बढी हुनु कारण बनेर आएका छन् । शारीरिक व्यायमले पनि असर गर्छ । यदि हाम्रो मांसपेशीमा क्षमता छ, व्यायम गरेर हड्डीलाई बलियो बनाएका छौं भने व्यायम नगर्ने वा विलासिताको जीवन बिताएको मानिसको एकै खाले दुर्घटनामा फरक फरकको चोटपटक लाग्न सक्छ । संसारमा सबै चिज नित्य हुँदैन । फलाम पनि भाँचिन्छ । साधारण चोटले लिगामेन्ट च्यातिने हुँदैन ।
हड्डी किन खिइन्छ ?
उमेरले गर्दा शरीरको हड्डी क्षय हुँदै जान्छ । यो क्षय हुन नदिनु वा कम क्षय हुनका लागि नियमित व्ययाम गर्ने, हड्डीलाई लोड दिइरहने, उसलाई आफ्नो काम गर्न दिइरहुनु पर्छ । भार दिने काम गराइराख्ने हो भने पनि हड्डीलाई बचाइराख्न सकिन्छ । उमेर बढ्दै गर्दा शरीरको सबै अंगहरु पनि बिस्तारै बिगँ्रदै जान्छन् । यसैगरी उमेर बढ्दै गर्दा जोर्नीहरु पनि बिस्तारै खिइँदै जाने प्रक्रियालाई सुरु हुन्छ । मानिस बढ्ने प्रक्रिया रोकिएपछि हड्डीका समस्याहरू सुरु हुन थाल्छन् । यस्तो समस्या २० देखि २२ वर्षबाट सुरु हुने भएपनि ४० वर्षमाथि रोगका लक्षणहरू देखा पर्न थाल्छन् । सुरु–सुरुमा दुःखाई कम हुने भएपनि पछि यो जटिल हुँदै जान्छ ।
शरीरका लागि हड्डी किन आवश्यक छ ?
शरीरको प्रत्येक अंग जस्तै हाडजोर्नीको पनि त्यतिकै महत्व हुन्छ । हाडजोर्नी विशेष गरी क्याल्सियम तथा खनिज पदार्थले बन्ने भएको हुनाले हामीले क्याल्सियम पाइने खाने कुरामा जोड दिनुपर्छ । दूध, दही, माछा मासु प्रशस्त सेवन गर्दा क्याल्सियम बन्छ । मानिस जन्मिए पछि ३० वर्ष उमेरसम्म हड्डी बढ्ने क्रम जारी रहन्छ । यो प्रकृतिको नियम नै हो । आमाको पेटमा रहँदादेखि नै शिशुको शरीरमा हाडको विकास हुन थाल्छ । सुरुमा कुरकुरे खालका नरम हाडहरूको विकास हुन्छ । कतिपय अंगका हाडहरू विभिन्न खनिज पदार्थ लिएर विकास भइसकेका हुन्छन् । आमाको पेटमा रहँदा नै कडा खालका हड्डी विकास भइसकेका हुन्छन् । अन्य हाडहरू बालक जन्मिएपछि विकास हुन्छ ।
हड्डी निर्जिव हो कि सजिब ?
१० वर्षको उमेरमा एउटा हड्डीले आफूलाई अर्काेमा परिवर्तन गर्छ । तन्तु प्रत्येक क्षणमा परिवर्तन हुँदै जान्छ । पूरानो निस्कँदै जाने नयाँ बन्दै जाने हुन्छ । १० वर्षको अन्तरमा पूरै हड्डी फेरिन्छ । जति कसरत गराइयो, त्यति नै यसले काम गर्दै जान्छ । हड्डी निर्जिव होइन, जीवित हुन्छ । त्यसले आफूलाई धेरै राम्रो बनाउने कोसिस गरिरहेको हुन्छ । शरीरको कुनै पनि अंग जस्तै आँखा, जिब्रोमा आदिमा घाउ लाग्यो भने त्यो निको हुन्छ तर त्यसमा दाग बस्छ । हड्डी मात्रै यस्तो चिज हो जहाँ घाउ लाग्दा दाग बस्दैन । हड्डीको शल्यक्रिया गरिसकेपछि चिकित्सकले बिरामीसँग भन्छन्, तपाईको हड्डी कताको भाँचिएको हो, दायाँ–बायाँ छुट्याउन नै सकिदैन । दाग नलाग्ने भएर नै चिकित्सकले यसो भन्न सकेका हुन् । हड्डीले पूरै रूपमा आफूलाई अर्काेमा रुपान्तरण गर्न सक्ने क्षमता राख्छ ।
जोर्नी र हड्डीबीच कस्तो सम्बन्ध रहन्छ ?
जोर्नी पनि हड्डी जस्तै हो । जहाँ दुईवटा हड्डीको मिलन हुन्छ त्यो मिलन बिन्दुलाई जोर्नी भनिन्छ । दुईवटा कडा बस्तु एक ठाउँमा मिलेर बस्न सक्दैनन् । एकले अर्काेलाई तान्छन । भार पर्दा भाग्न सक्छन । त्यो भाग्न नदिनका लागि व्यालेन्स हुनुप¥यो । एउटा चल्नु प¥यो, चल्नका लागि खुकुलोपना हुनुप¥यो । अर्काेमा नगाभियोस् भनेर कसिलोपन हुनु प¥यो । दुबै चिजको व्यालेन्स हुनु प¥यो । व्यालेन्स ल्याउनका लागि जोर्नीका वरिपरी लिगामेन्ट (मसल्स)सहित अन्य तन्तुहरू जोडिएका हुन्छन् । ती तन्तुले बाहिरबाट सर्पाेट गर्छन् । ती तन्तुले बलिलो बनाएर जोर्नीको जीवन लामो बनाएका हुन्छन् । त्यही भएर ४५–५० वर्षको उमेरमा घुँडा खिइयो भन्ने गुनासो आउँछ । यदि हाम्रो जीवन शैली राम्रो बनायौं, शारीरिक व्यायम गरिरहने, राम्रो खानपिनमा ध्यान दिने, जोर्नी तथा जोर्नी वरिपरीका मांसपेसीहरू (लिगामेन्ट) बलियो हुन्छ । जोर्नीको उमेर बढाउन सकिन्छ ।
कस्तो अवस्थामा हड्डीमा स्टिल राख्नुपर्छ ?
हड्डी भाँचिएकोमा हड्डीको प्रकृति हेरेर हामीले स्टील राख्ने गर्दछौं । बच्चा तथा ठूलो मासिनको हड्डी भाँचिएको (फ्याक्चर) मा साधारण प्लास्टरले हुन्छ भने ठूलो मान्छेको हड्डीको क्षमताका आधारमा प्लाष्टर गरिन्छ । अहिलेको अवस्थामा तीनदेखि ६ महिना प्लाष्टर लगाएर राख्न सम्भव पनि छैन । हड्डी भाँचिने उपचारमा मोटामोटी एक लाख खर्च भयो भने एउटा साधारण आय भएको मानिसले जसले ३०—४० हजार रुपैयाँ कमाउने मासिनले ३—४ महिनामा त्यो खर्च रिकमभर गर्न सक्छ । ३—४ महिना घर बसेर फर्कंदा उसलाई रोजगार दाताले राख्न पनि चाहँदैन । त्यसैले छिटो निको हुनका लागि स्टिल राख्ने शल्यक्रिया गर्नु परेको हो । हड्डी शल्यक्रियाको दर अहिले बढेको छ । बढ्नुका पछाडि छिटो निको हुनु पर्ने नै कारक हो । शल्यक्रिया गरी स्टिल राख्दा बिरामी हिँडडुल गर्न सक्छ । सुत्दा–बस्दा हुने धेरै साइड इफेक्ट पनि कम गराउन सकिन्छ । आर्थिक हिसाबमा पनि छिटो निको हुनाले बिरामीलाई नै फाइदा हुन्छ । स्टिल राखेको केही समय पछि यो निकालिन्छ । पाङ्ग्राको हड्डी शल्यक्रिया गर्दा राखिएका स्टिल तीन महिना राख्दा पुग्छ । हातको हड्डी भाँचिदा राखिने स्टिल नौ महिना, तीघ्राको भए वा ठूला हड्डीको स्टिल डेढ वर्षसम्म राखेर निकालिन्छ । स्टिल राख्दा हड्डीमा असर गर्दैन । तर, निकाल्नु भने पर्छ । ननिकाल्दा पातलो हड्डीमा धातुको रियाक्सनले क्यान्सर हुने खतरा रहन्छ । हामीले दुई किसिमको स्टिल राख्छौं । एउटा किल्ला जस्तो हुन्छ । जुन हड्डी भित्रको प्वालमा राखिन्छ भने अर्को बाहिरबाट गर्छौ । प्लेट निकाल्नुपर्छ । त्यो ननिकाले प्लेट मुनिको हड्डी पातलो हुँदै जान्छ । प्लेट फलाम भएकाले धेरै समय राख्दा भाँचिन्छ । हड्डी पनि कमलो बनेपछि भाँचिने सम्भावना रहन्छ ।
स्कुले शिक्षादेखि एमडीसम्मको यात्रा कस्तो रह्यो ?
चितवन नारायणगढमा जन्मेको म बुबाको सरकारी जागिरका कारण उहाँको जहाँ जहाँ सरुवा भयो त्यहाँ त्यहाँ गएर मैले विद्यालय शिक्षा सकेके हुँ । म जन्मेको दिनमा बुबाको लोकसेवामा नाम निस्केको रहेछ । घरेलु मन्त्रालयमा राजपत्र अनंकितमा नाम निकाल्नु भएको रहेछ । अहिले जस्तो फस्ट क्लास सेकेण्ड क्लाल भन्ने हुँदैन रहेछ त्यति बेला । ११ दिनमा न्वारन गर्नुपर्ने प्रचलन रहे पनि मेरो सात दिनमै न्वारन गरेर पोखरामा गएका थियौं रे हामी । ६—७ वर्ष पोखरामा बस्दा पहिलो स्कुल मेरो पोखरामै भयो । त्यसपछि बुबाको स्थानीय विकास मन्त्रालयमा सरुवा भयो । प्रत्येक वर्ष सरुवा हुँदो रहेछ । बुबाको सरुवा हुँदा मेरो स्कुल पनि परिवर्तन हुँदै गए । एसएलसी दिँदासम्म मैले ११ वटा विद्यालय पढें । वीरगन्जको गौतम इङलिस बोर्डिङ स्कुलबाट एसएलसी दिएको हु । वीरगन्जकै ठाकुराम बहुमुखी क्याम्पसबाट आइएस्सी सकेको हुँ । एमबीबीएस अध्ययनका लागि शिक्षा मन्त्रालय, टिचिङ अस्तालमाजाँच दिँदा पहिलो वर्ष डेन्टलमा नाम निस्कियो । डेन्टलमा नाम निस्किएको जानकारी दिँदा घरबाट त्यति राम्रो प्रतिक्रिया आएन । राम्रो प्रतिक्रिया नआएपछि एक वर्ष कुर्ने भन्ने भयोे । अर्को वर्ष एमबीबीएसमा नाम निस्कियो । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस पास गरेँ । मैले एमबीबीएस सकाए पछि शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले एउटा नियम ल्याए । त्यो नियममा थियो, ‘छात्रवृत्तिमा एमबीबीएस गरेका विद्याथीले दुई वर्ष अनिवार्य सरकारी सेवा गर्नैपर्ने ।’ यो नियम म छात्रवृत्तिमा पढेको विद्यार्थी भएकाले मान्नै पर्ने वाध्यता थियो । स्वास्थ्य सेवा विभागले बर्दिवास अस्पताल खटायो । बर्दिवासको दुईवर्षे कार्य अवधि सकिने वित्तिकै फेरि पढ्नुपर्छ भन्ने भयो । न्याम्स तथा टिचिङमा एमडीको फर्म पनि खुलेको थियो । टिचिङमा विषय पछि छान्न पाइन्छ । न्याम्समा पहिला नै विषय छनौट गरी परीक्षा दिन पाइन्थ्यो त्यति बेला । मैले न्याम्समा विषय छनोट गरी परीक्षा दिएको थिएँ । त्यहाँ नाम निस्कियो पनि । तीन वर्ष त्यहाँ पढियो । एमडी सकाएपछि ठमेलस्थित मनमोहन सामुदायिक अस्पतालमा ५ वर्ष काम गरेँ ।
विदेश जान मन लागेन ?
बारक ओबामा अमेरिकाका राष्ट्रपति नबनेको भए म नेपालमा हुँदैनथे होला । अमेरिका जान एमएलइको तयारी गरेको थिएँ । मेरो जीवनको लक्ष्य नै अमेरिकामा बस्ने, त्यही पढ्ने, जिन्दगी त्यहीं नै बिताउने भन्ने थियो । भाँडा माझेर भए पनि म विदेशमा जान्छु नेपाल बस्दिन भन्नेनै थियो । कारण एमबीबीएस सकिएपछि गाउँका स्वास्थ्य चौकी वा अस्पतालमा दुई वर्ष काम गर्नै पर्ने सरकारी नीति । गाउँ के हो मलाई थाहा थिएन । १८ घन्टे लोडसेडिङ थियो त्यति बेला । आफू भन्दा सिनियर सरहरूको अवस्था पनि नजिकबाट देखेको थिएँ मैले । मेनेजमेन्टका मानिस आएर थर्काउने, जागिर खाइदिने गतिविधि देखेको थिएँ । उपचारका लागि गर्नुपर्ने टेष्ट विदेशमा पठाउनुपर्ने अवस्था देखेकाले यस्तो देशमा पनि कोही बस्छ भन्ने मनमा आएको हो । बाराक ओबामा राष्ट्रपति बनेपछि उनको विदेश नीतिमा परिवर्तन आयो । एमएलइमा कडाइ गर्ने नीति बन्यो । एमएलइमा कडाइ भएपछि मेरो विदेश जाने चाहना रोकिएको हो । एमएलइमा कडा नीति बनेपछि एमडी अध्ययनका लागि फर्म खुल्यो । न्याम्स र टिचिङमा फर्म भर्ने निधो गरें । न्याम्सको फर्म साथीले भरिदियो । एमडीको परीक्षमा एमएलइकै प्रश्नहरू आए । एमएलइमा राम्रो तयारी गरेकाले मेरो नाम निस्कियो । एमडीमा नाम निस्किएपछि सोचाई नै परिवर्तन भयो । अमेरिकाभन्दा हामी केही विषयमा पनि कमजोर छैनौ भन्ने भइसकेको छ । नेपाल बसेकोमा पछुतो छैन । अहिले विदेशमा कोरोना पछिको अवस्था सुनेपछि बाराक ओबामालाई धन्यवाद दिन मन लागेको छ ।
सुमेरु अस्पतालसँगको सम्लग्नता ?
सुमेरु आएको एक वर्ष भयो । सुमेरु अस्पताल आउनु अघि काम गरेको अस्पतालमा सामानको अभाव थियो । फुल टाइम कोही डक्टर पनि नबस्ने । ६ महिना काम गरिसक्दा पनि डक्टर–डाक्टरबीचनै चिनजानै नहुने । त्यसरी काम गर्दा बिरामीमाथि चिटिङ भए जस्तो लाग्न थाल्यो । त्यसैले राम्रो ठाउँको खोजी गर्न थाले । सुविधा सम्पन्न अस्पताल भएकोले मलाइ सुमेरुतर्फ आकर्षित ग¥यो । सुमेरुको व्यवस्थापन राम्रो छ । बिरामीलाई सस्तोमा सुविधा दिएको छ । व्यवस्थापन राम्रो भएको अस्पतालमा काम गर्न पाउँदा अहिले म ढुक्क छुँ । मेनेजमेन्टमा प्रस्ताव लिएर जाँदा तत्कालै दिनसक्ने भएकाले पनि यहाँको बसाइ राम्रो छ ।
 

सम्बन्धित समाचार