सत्ताले स्वाद यसरी बिगारिदिन्छ कि इन्द्रियहरु समेतले अत्याधिक भ्रमित पार्नथाल्छन् । आसेपासेको घेराबन्दीले आँखा भइकन वास्तविकता नदेख्ने, कान भइकन नसुन्ने, छाला भइकन महशुश नगर्ने, जिब्रो भइकन स्वाद थाहानपाउने र नाक भइकन सुघ्न नसक्ने बनाइदिन्छ । सत्ताको कुर्सीले शक्ति मात्र दिदैन शक्तिको दुरुपयोग गर्ने नकारात्मक सोच पनि विकास गरिदिन्छ । त्यसैले विवेक नपु¥याउने शक्तिमा पुगेमा ऊ स्वयंमात्र नभई राजनीतिक प्रणाली र सिंगो देश नै दुर्घटनामा पर्न सक्छ । परिवर्तन ल्याउन जति कठिन छ त्यसलाई हुर्काउन बढाउन उत्तिकै कठिन छ । सँसारमा कतिपय राजनीतिक परिवर्तन झन् बोझिलो र भयावहयुक्त भएको इतिहास साक्षी छ । अग्रगामी भनिएका कतिपय परिवर्तनले नयाँ निरंकुश शासकको उदय गराएको छ । अफ्रिकी देशहरुमा उपनिवेश अन्त गरी आएको राजनीतिक पविर्तनले निरंकुशहरु जन्माएको इतिहास साक्षी छ । इदी अमिनको आतंकको कथा एउटामात्र उदाहरण होइन । कट्टरपन्थी तालिवानी शासकलाई काबुलबाट धपाएर अफगानिस्तानमा लोकतान्त्रिक सरकार बनेपनि त्यहाँ शान्ति बन्न सकेको छैन । दिनहुँजसो हिंसात्मक घटनाहरु भइरहन्छन् । इजिप्ट, लिबिया जस्ता उत्तर अफ्रिकी देशहरुमा क्रान्तिपछि निरंकुश शासनसत्ता ढलेपनि परिवर्तनपछिको राजनीतिक झन् अस्थिर र अराजक बनेका छन् । जातीय द्वन्द्व र साम्प्रादायिक हिंसाले लिबिया झन् संकटमा फसेको छ । नेताहरुको सत्ता केन्द्रित द्वन्द्वले जनआक्रोश बढेको छ ।
नेपालमा पनि दश वर्षको हिंसात्मक द्वन्द्व र त्यसैको बहानामा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि बीसौं लाख जनता सडकमा उत्रिएर लोकतान्त्रिक गणतन्त्रको ढोका खोलिदिए । जननिर्वाचित संविधानसभाले संघीयतासहितको गणतान्त्रिक राजनीतिक प्रणाली लेख्यो । देश हिन्दु राष्ट्रबाट धर्मनीरपेक्ष भयो । एकैपटक यति धेरै परिवर्तनहरु एकसाथ भएको विश्वमा कमै घटना होला । सन्तुष्ट असन्तुष्ट सबैले देश अब परिवर्तन भई अगाडि बढेको स्वीकारे । राजनीतिक दल र तिनका नेताहरुप्रति ठुलो आशा र भरोसा गरे । देश सामान्य हिसाबले चल्दै गयो । दुईपटकको संविधानसभाले संविधान लेखेपछि यसको कार्यान्वयनका लागि आमचुनाव पनि भयो । स्थानीय, प्रदेश र संसदको चुनाव सफलताका साथ सम्पन्न भएपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आयो । जनताले अब मूल्य मान्यताको राजनीति हुन्छ, विधिसम्मत तरिकाले देश चल्छ र दुःखपीडा नपर्ने गरी नेताहरुले पद्धतिको विकास गर्छन् भन्ने आशा गरे । देशमा दुई तिहाईको सरकार बनेपछि राजनीतिक अस्थिरता नहरने आशा पनि बढ्यो । एक वर्षमै प्रधानमन्त्री फेरिने परिपाठीको अन्त भई विकास र समृद्धितर्फ देश केन्द्रित हुने भरोसा गर्नु स्वाभाविक पनि थियो । केपी शर्मा ओली संसदमा दुई तिहाई पाएर प्रधानमन्त्री बने । उनी नेपालको इतिहासमा वीपी कोइरालापछि दुई तिहाईको सरकार चलाउन दोस्रा प्रधानमन्त्री बने । पार्टीमा बलियो पकड र संसदमा पनि दुई तिहाईको समर्थनले ओली सर्वशक्तिमान बने । तर, उनैले संसद विघटन गरे । संविधानको हत्या गरेर देशमा नयाँ संविधानको आवश्यकताको औचित्य पुष्टि गरे ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति विदेशीको पनि चासो बढेको छ । नेपालस्थित विदेशी नियोगले राजावादीको बढ्दो सक्रियतासँगै आफ्ना नागरिक र सम्वद्ध कर्मचारीलाई एलर्ट हुन सूचना जारी गरिसकेको छ । विदेशी मिडियाले पनि राजावादीको जुलुसलाई प्राथमिक समाचार बनाएर प्रकाशन एवं प्रसारण गर्न थालिसकेका छन् । केही वर्ष अघि आगोको झिल्को समान राजावादीको प्रदर्शनले आगोको मुश्लो बन्ने अवस्था बन्दैछ । विभिन्न झुण्डमा देशका कुना काप्चामा फेशनको शैलीमा देखिनेगरेका राजावादीहरु अब विस्तारै एकीकृत हुन थालेका छन् । उनीहरु ओलीले चालेको संसद विघटनको कदमको पक्षमा उभिएका छन् । सत्ताधारी नै गणतन्त्र र धर्म निरपेक्षका विरोधी समूह जस्ता भएका छन् ।
राजावादी सडकमा आइरहँदा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संविधान काम छैन भनिरहेका छन् । उनले राजनीतिक दलका नेताहरुलाई चेतावनी समेत दिएका छन् । देशमा जताततैबाट संविधानमाथि प्रहार भइरहेको छ । विदेशीहरुको नेपालमा प्रभाव बढाउने आफ्नै खालको स्वार्थ छ । दक्षिण र उत्तर दुवैतर्फबाट वरिष्ठ अधिकारीहरुको दौडधुप चल्यो । केही समय अघि गुप्तचर र सैन्य तहमा चलेको दौडधुपलाई सामान्य मान्न सकिदैन । ओली आफै धर्मको विषय जोडतोडले उठाइरहेका छन् । उनी राजसंस्थाप्रति नरम छन् । बरु अहिलेको राजनीतिक प्रणाली नै समाप्त हुने गतिविधि गर्दैै आएका छन् । प्रतिनिधि सभा विघटन गराएका छन् । त्यसपछि उत्पन्न घटनाक्रमले अहिलेको राजनीतिक दलका नेताप्रति मात्र नभई व्यवस्थाप्रति नै वितृष्णा बढेको छ । यो गणतन्त्र धरापमा परेको संकेत हो । ओली निकटस्थहरु यस्तै संकेतहरु गरिरहेका छन् ।
ओलीले राजनीतिक शक्ति सञ्चयका लागि कुनैपनि बेला आश्चर्यलाग्दा कदमहरु चाल्न सक्छन् । उनले विगतमा त्यस्तै कदम चाल्दै आए । ओली आफै पनि गणतन्त्रको पक्षमा दरिलो रुपमा उभिएका होइनन् । वयलगाडा चढेर अमेरिका पुगिदैन र यो आन्दोलनले गणतन्त्र ल्याउँदैन भनेर २०६२६३ को आन्दोलन अगाडि भनेकै थिए । ओलीलाई संघीयता पनि मन परेको थिएन । उनले जातीय आन्दोलनको पनि विरोध गरेका थिए । धर्मप्रति ओलीको आस्था बढ्दै गएको छ । उनले पशुपतिनाथमा संकल्प पूजा गरिसकेका छन् । यो संकल्प पूजा नेपालको राजनीतिमा ठुलै उथलपुथल ल्याउने सन्देश पनि हुनसक्छ ।