गणित ११ र १२ कक्षामा तेस्रो अनिवार्य विषय

19.2k Shares

काठमाडौं, माघ १६  । ११ र १२ कक्षाको विद्यार्थीले तेस्रो अनिवार्य विषयमा गणित अध्ययन गर्न पाउने भएका छन् । शिक्षामन्त्रीको नेतृत्वमा रहेको पाठ्यक्रम तथा मूल्यांकन परिषद्को बिहीबार भएको बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो । ‘तेस्रो अनिवार्य विषयको रुपमा गणित पनि राख्ने परिषदले निर्णय गरेको छ’, नेपाल गणित संघका सहसचिव डा जीवन काफ्लेले भने, ‘गणित विषयलाई ओझेलमा पार्न गरिएको प्रयास असफल भएको छ ।’ पहिलो अनिवार्य विषयको रुपमा नेपाली, दोस्रो अंग्रेजी रहेको छ ।
११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयको रुपमा गणित वा सामाजिक तथा जीवन उपयोगी मध्ये एउटा अध्ययन गर्नुपर्नेछ । यसअघि तेस्रो अनिवार्य विषयको रुपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो ।
नयाँ पाठ्यक्रम बनाउने क्रममा चौथो ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको थियो । ‘तेस्रो अनिवार्य विषयको रुपमा रहेको विद्यार्थीले पनि ऐच्छिक विषयमा गणित पढ्न भने पाउने छन्’, डा काफ्लेले भने ।
गणितलाई नयाँ पाठ्यक्रमबाट हटाएपछि समाजले आन्दोलन गर्दै आएको थियो। गणित शिक्षालाई ओझेलमा पारेको भन्दै अदालतमा मुद्दा समेत परेको थियो। अदालतले सो विषयलाई समावेश गराउने फैसला गरेको थियो ।

सम्बन्धित समाचार