काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली भारतका राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत् भन्दा पनि हिन्दुवादी हुनथालेको छ । उनी अध्यात्मिक प्रवचनहरु दैनिकजसो दिन थालेका छन् । ऋषिमुनीको योगदान र पूर्वीय दर्शनको कुरा गर्न थालेका छन् । माक्र्सवादी स्कुलिङबाट आएका ओलीको बोलीमा भौतिकवादी नभई अध्यात्मवादी दर्शन सुनिनुले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । त्यसमाथि उनले माघ महिनाको सोमबार पारेर पशुपतिनाथको दर्शन गरी संकल्प पूजा गरेका छन् ।
ओलीले देशमा बढ्दो धर्मको सेन्टिमेन्टलाई पक्रन खोजेका छन् । उनले कम्युनिस्ट विचारको ‘क’ पनि उच्चारण गर्न छाड्नु र अध्यात्मिक विषयबारे मात्र बोल्नुले यही संकेत गरेको छ । नेकपा अध्यक्ष प्रचण्डले त ओलीले धर्मनीरपेक्षतालाई सिध्याउन खोजेको बताइसकेका छन् । अन्य आरोपको खण्डन गरेपनि ओलीले यो आरोपको खण्डन गरेका छैनन् । उनले धर्मनीरपेक्षतालाई जोगाउने विषयबारे कहीं कतै नबोल्नुले कुनैपनि बेला नयाँ कदम चाल्नसक्ने सम्भावनाका रुपमा बुझिएको छ । उनले धर्मनीरपेक्षता हटाउने एजेन्डालाई कुनैपनि बेला उठाउन सक्ने देखिएको छ । यसको सन्देशहरु निरन्तर प्रवाह गरिरहेका छन् । उनले यसलाई राजनीतिक शक्ति सञ्चयका रुपमा लिन खोजिरहेको देखिन्छ । जसरी भारतमा नरेन्द्र मोदीले धर्मको एजेन्डा बोकेर राजनीतिक सफलता हासिल गरे ओली त्यही दिशातर्फ बढ्न खोज्दैछन् ।
मोदीले सन् २०१४ मा राष्ट्रवादको मुद्दालाई टेकेर भारतीय जनता पार्टीलाई शानदार जित दिलाए । दोस्रोपटक सन् २०१९ मा बहुमतका साथ चुनाव जित्दा धर्मको मुद्दालाई उठाएका थिए । विशेषगरी अयोध्यामा राम मन्दिर निर्माण मोदीको मुद्दा थियो । उनले पशुपतिनाथ र मुक्तिनाथको महत्वपूर्ण पूजा समेत गरे । यसबाट उनले हिन्दु समुदायबाट समर्थन बढाउन सके । मोदीले भारतमा पहिलो राष्ट्रवाद र पछि धर्मको मुद्दा उठाएर शक्तिशाली प्रधानमन्त्री बन्न सके त्यसरी नै नेपालमा ओलीले राष्ट्रवादको मुद्दा उठाएर शुरुमा प्रभाव बनाए । नाकाबन्दीको बखत उनले बलियो गरी अडान कसे । सीमाको विषयमा पनि उनी डगमग भएनन् । कालापानी क्षेत्रसहितको चुच्चो नक्शा जारी गर्न सके । ओलीको यो हिम्मतले उनलाई झन् शक्तिशाली बनायो । अब ओलीले मोदीकै शैलीमा धर्मको मुद्दा उठाउने सुरसार कसेका छन् । कम्युनिस्ट नेताको पशुपतिनाथ दर्शनको सन्देश अर्थपूर्ण छ ।
देशभित्र धर्मको मुद्दामा जनलहर नै आउने अवस्था बनिरहँदा ओलीले त्यसैलाई पक्रन खोजेको देखिदैछ । केही समय अघि हिन्दु राष्ट्रको पक्षमा स्वतः स्फूर्त होस् या योजनावद्ध तरिकाले हजारौ लाखौं मानिसहरु सडकमा ओर्लिएका थिए । नागरिकको सेन्टिमेन्ट बुझेका ओलीले त्यसकारण पनि धर्मको अस्त्र फाल्न खोजेको देखिदैछ । उनी यही अस्त्रबाट विरोधीहरुलाई पराजित गर्न लागिपरेको देखिदैछ । प्रतिनिधि सभा विघटनको कठोर कदम चालेर अलोकप्रिय ओली यसैबाट लोकप्रियता हासिल गर्न खोज्दैछन् । प्रतिनिधि सभा विघटनपछि शक्तिशाली नेताहरुदेखि नागरिक अगुवाको ठुलो पंक्ति ओलीको विपक्षमा देखिएको छ । आफूविरुद्धको लहरलाई उल्टाउन पनि उनी धर्मको मुद्दामा केन्द्रित हुँदै गएका छन् ।
ओली मौकाको पर्खाइमा देखिन्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुनेवित्तिकै कदम चाल्ने तयारीमा देखिन्छन् । यो विषय उठाइहाल्न उनलाई सजिलो भने छ्रैन । राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब पनि बढ्न सक्छ । तर, ओली त्यस्ता दबाबलाई थेग्ने हिम्मत राख्ने सामथ्र्यको रहेको प्रमाणित गर्न खोजिरहेका छन् । उनले देशभित्र आफ्नै दलमा तीनजना पूर्व प्रधानमन्त्रीलाई सडकमा जुलुस गर्न वाध्य पारिदिए । कहिले चीन त कहिले भारतलाई अस्त्र बनाएर राजनीतिक लाभ लिए । उनले अमेरिकी र यूरोपेलीहरुको स्वार्थलाई पनि आफू अनुकूल बनाउने चतु¥याई देखाए । अब उनी कति टाढासम्म जानसक्छन् भन्ने विषय महत्वपूर्ण छ ।
पछिल्लो समय ओलीलाई दक्षिणको राम्रो साथ मिलिरहेको देखिदैछ । उनले आध्यात्मिक विषयमा बढी जोडबल गरेर भारतको सत्तारुढ भारतीय जनता पार्टीलाई उत्साही बनाइदिएका छन् । भाजपाका कतिपय नेताहरुले नेपालमा हिन्दुराष्ट्रको विषयबारे विगतमा पनि बोलेका थिए । भाजपा निकट विज्ञहरु यही विषय उठाउने गरेका छन् । विगतमा माओवादीलाई साथ दिएर भारतले गम्भीर गल्ती गरेको भाजपा निकट पूूर्व जर्नेल गगनदिप बक्सीले बोलेका छन् । यो अर्थपूर्ण छ ।
यसैगरी, नेपालमा राजसंस्था फर्काउनेहरुको गतिविधिप्रति भारतभित्र समेत चासो बढ्न थालेको छ । संविधान नै संकटमा पर्दा दक्षिणतिरबाट समेत राजसंस्था फर्काउने विषयमा लेखहरु आउन थालेका छन् । नेपालमा राजसंस्था अपरिहार्य भएको तर्क गर्दै भारतका एकजना पूर्व सचिवले टिप्पणी गरेका छन् । भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत् यस्तो तर्क गरेका हुन् । नेपालमा सन् १९५० यता कुनै पनि निर्वाचित प्रधामन्त्रीले पाँच वर्ष कार्यकाल सम्हाल्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यस्तै अवस्था आएको रमेशले लेखमा भनेका छन् । ओली नतृत्वको नेकपा सरकारले संसद विघटन गरेर संघियतालाई नै धरापमा पारेको लेखमा उल्लेख छ ।
विगतमा ‘बेबी किङ’का रुपमा अघि सारिका हृदयन्द्र राजा बन्ने उपयुक्त पात्र हुनसक्ने समेत उल्लेख गरेका छन् । ‘गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्र र पारसलाई हृदयन्द्रका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए,’ एस. रमेशले माओवादीले बेबि किङको प्रस्ताव अस्वीकार गरेको विषय उल्लेख गर्दै भनेका छन्,‘के यो विगतमा गरिएको यो आग्रहलाई भेट्रान नेताहरुले पुनःयो विषयलाई मान्यता देलान् ?’ उनले हृदयन्द्र १८ वर्ष पुगेको र उनी भारतको राजखानदानसँग समेत नातासम्बन्ध भएको उल्लेख गरेका छन् । नेपालमा पछिल्लो समय राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै विरोध जुलुसहरु पनि भइरहेको लेखेका छन् । रमेशले विगतमा राजालाई सौहाद्रपूर्ण तरिकाले गद्दी छाड्न लगाउन कँग्रेस आईका भेट्रान नेता करण सिंहलाई भारत सरकारले काठमाडौं पठाएको उल्लेख गरेका छन् । उनले अब फेरि करण सिंहलाई भारत सरकारले पठाउनसक्ने विषय उल्लेख गरेका छन् । उनको आशय राजसंस्था फर्काउन सिंहलाई भारतले पठाउने विषय रहेको छ ।