आहार विहार, अनुशासन, सेवा भाव, खुसी, हा“सो सबै योगले सिकाउ“छ 

23.6k Shares

प्रकृतिमा विश्वास गर्नु भनेको विज्ञानमा विश्वास गर्नु हो । त्यसो त प्रकृतिभन्दा पर कुन शास्त्र होला र ? वैज्ञानिक चाल्र्स डार्बिनले ‘सर्भाइबल अफ फिटेस्ट’ शिर्षक दिएर ठोकुवा गरे— योग्य र सक्षमहरू बाँच्छन्, कमजोरहरू लोप हुन्छन् ।
विश्वभरका धनी र गरिब सबै देशका मान्छेहरू विभिन्न दीर्घरोगबाट शिकार भइरहेकै छन् । दुई बीसको उमेर नकट्दै युवाहरू सुगर, दम र पायल्स हटाउने विज्ञापनका उपभोक्ता बनेका छन् । रत्नपार्कमा सजाइएका औषधि डिब्बा भरीभराऊ छन् ।
यतिखेर त कोभिड भाइरसको चपेटाले सबै उमेरका हामी सबैलाई बरोबर झस्काइरहेकै छ । घरि घरि देश दुनियाँ सोच्न बाध्य भइरहेको छ कि कतै मानव जाति नै लोप हुने बिन्दुमा आइपुगेको त होइन ? प्राकृतिक जीवनशैली र सकारात्मक सोचशैली अहिलेको आवश्यकता हो । जीवनलाई प्राकृतिक र सकारात्मक बनाउने कुनै यन्त्र, मन्त्र र तन्त्र अरु केही नभएर योग हो ।
नारीवादी पाठकहरूसँग क्षमा माग्छु । तर प्राकृतिक सत्य के हो भने महिलाको शरीर पुरुषको तुलनामा संवेदनशील हुन्छ । प्रकृतिप्रदत्त यो बनौट हामी बदल्न सक्दैनौँ । संवेदनशीलतालाई उपहार बनाउँदै हामी कसरी झन् स्वस्थ, सक्षम र योग्य बन्ने भन्ने उपय हामीसँगै छ । जरुरी छ । त्यो उपाय योगाभ्यास हो । अब हामी सबैले योगलाई आफ्नो दैनिकी किन नबनाउने ?
जसरी एउटा महिला अर्थात्, आमा शिक्षित भएमा उसको परिवार शिक्षित हुन्छ भनिन्छ, त्यसरी नै घरको एक महिला अर्थात् आमा स्वस्थ भएमा मात्र उसको घरपरिवार स्वस्थ हुन्छ र क्रमशः समाज, देश र विश्वलाई नै स्वस्थ राख्न सकिन्छ । महिला स्वस्थ हुनु जति आवश्यक छ, त्यति नै आवश्यक छ सुन्दर हुनु पनि ।
सुन्दर हुने भन्ने बित्तिक्कै आम मान्छे बहिरी सुन्दरताको कुरा बुझ्छन् । तर असली सुन्दरता त भित्री सुन्दरता हो । चाहे त्यो बाहिरी सुन्दरता होस्, चाहे त्यो भित्री सुन्दरता, यसको लागि एउटा महाज्ञान वा महाविद्याको जरुरी छ । त्यो ज्ञान वा विद्या अरु केही नभएर योग हो । यो आलेखमार्फत् योगको त्यही महत्वलाई बताउने प्रयास गरेकी छु ।
उपनिषदले भनेको छ ः
पृथिव्यप्तेजोऽनिलखे समुत्थिते पञ्चात्मके योगगुणे प्रवृत्ते ।
न तस्य रोगो न जरा न मृत्युः प्राप्तस्य योगाग्निमयं शरीरम् ।।
योग गर्ने मान्छेको शरीरमा पाँच गुण उत्पन्न हुन्छ । उसको शरीर योगाग्नीबाट बनेको हुन्छ । त्यसैले ऊ रोग, शोक र मृत्युबाट मुक्त हुन्छ । साथै योगमा लागेका हरकोही व्यक्ति सकरात्मक सोचका धनी, सहयोगी हुनुका साथै अनुहार हँसिलो, बोली रसिलो भएका हुन्छन् ।
भित्रैदेखि उसको रुपमा सुन्दरता र शरीरमा स्वस्थता झल्किन थाल्छ । हुन त महिला भान्सामा मात्रै सीमित हुनु पर्छ भन्ने छैन । तर जो महिला भान्सामा हुन्छन्, ती महिला भान्सामा डाक्टर हुन् । पूरा परिवारको स्वास्थ्य पनि भान्सामा बस्ने व्यक्तिकै हातमा अडिएको हुन्छ ।
एकैछिन जिब्रोको स्वादको लागि मात्रै खाने कि स्वास्थ्यको लागि खाने भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ । घरमा रहेका स—साना बच्चाहरूदेखि ठूला ठूला छाराछोरीहरू पनि आफ्नो आमासँग नै बढी नजिक हुने हुनाले घरमा रहेको मातृशक्तिको प्रभाव ती कलिला हुर्कँदै गरेका नानीबाबुमा पर्ने हुनाले महिलाले झन् योगमा विशेष ध्यान दिनु पर्छ ।
उनीहरूको आहारविहार, सुन्ने वा बोल्ने बानी, सानालाई माया गर्ने ठूलालाई आदर गर्ने, थोरै भएता पनि ज्ञानगुनका कुरा सिक्ने, सेवा गर्ने जस्ता नैतिक आचरणका कुराहरू आफ्नो आमाबाट सबैभन्दा पहिला सिक्न पाउँछन् । आमा यदि योगमा छिन् भने यी सबै गुण आमाबाट परिवारका सबै सदस्यमा हस्तान्तरण हुँदै पुस्तान्तरण समेत हुन्छ ।
जीवन सुन्दर बन्छ । घर, समाज र राष्ट्रले असल नागरिक पाउँछ । अन्ततः देशमा सुशासन र अनुशासन दुवै कायम गर्न सम्भव हुन्छ । दुःखमा नआत्तिने र सुखमा नमात्तिने कला योगले नै सिकाउँछ ।
योग शारीरिक व्यायाम मात्रै होइन । पूर्वीय सभ्यताको सुरुआतकालीन समयमा योगले नै व्यायामको कला सिकाए पनि योगभित्र महासागर छ । नैतिकता, आहार विहार, अनुशासन, सेवा भाव, खुसी, हाँसो सबै योगले नै सिकाउँछ ।
खुसी प्राप्त गर्नका लागि भौतिक सुखमा मात्रै अल्झने र सुन्दरता प्राप्त गर्नका लागि ब्राण्डेड क्रिम लगाएर र पार्लर धाएर मात्रै हुँदैन । त्यो त बाहिरी आवरणको लागि मात्रै हो । मुहारको वास्तविक चमक त योगबाट आउँछ, अनुशासित जीवनशैली र स्वास्थकर आहारविहारबाट आउँछ ।
नत्र क्रिम र पाउडर लागएपनि अनुहारमा निराशापन प्रष्ट किन झल्किन्छ ! निधारका गाँठा र अनुहारको चाउरीलाई पाउडरले छेक्दैन । साथै शारीरिक र मानसिक रुपले पीडा नै भइराख्छ । भित्री सुख प्राप्तिको लागि पनि सम्पूर्ण महिलाहरू आफ्नो जीवनको एउटा महत्वपूर्ण पाटो योगलाई लिनु पर्छ ।
योग अर्थात् व्यायामसँग सम्बन्धित एउटा श्लोक यहाँ राख्दै यहाँहरू सबैलाई राष्ट्रिय योग दिवसको शुभकामना अर्पण गर्दछु ः
व्यायामात् लभते स्वास्थ्यं दीर्घायुष्यं बलं सुखं ।
आरोग्यं परमं भाग्यं स्वास्थ्यं सर्वार्थसाधनम् ।।
अर्थात्, योग अर्थात् व्यायामबाट स्वास्थ, लामो आयु र सुख प्राप्त हुन्छ । निरोगी हुनु सबैभन्दा ठूलो भाग्य हो । स्वस्थ मान्छेले नै संसारमा अन्य सबै काम सिद्ध गर्न सक्छ । 

सम्बन्धित समाचार