नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने बिहीबार साँझ कारागार चलान भए । जिल्ला अदालत भक्तपुरले ठगी र किर्ते मुद्दामा न्यौपानेसँग ३५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । त्यति रकम बुझाउन नसक्ने बताएपछि प्रहरीले उनलाई डिल्लीबजार कारागार लग्यो ।
३३ करोड ७५ लाख बढी बिगो माग गरिएका लम्बोदरलाई मात्रै ३५ लाख धरौटी मागियो । त्यो पनि बुझाउन सक्दिनँ भनेर उनले जेलको बाटो रोजे, आखिर किन ?
बिहीबारको यो घट्नाले धेरैलाई आश्चर्यमा पार्यो । उनीबारे जानकारलाई यो घट्ना अस्वभाविक लाग्ने केहि कारण थिए । यहि मुद्दामा जिल्ला अदालतमा बयान दिने क्रममा उनले आफ्नो मासिक तलब नै ५ लाख रुपैयाँ रहेको बताएका थिए । उनले सोहि बयानमा डेढ करोड रुपैयाँ थप सुविधा लिएको पनि स्वीकारेका थिए । यतिका धेरै पैसा कमाउने लम्बोदरले के ३५ लाख रुपैयाँ पनि जुटाउन नसकेकै हुन् त ?
उनका विपक्षीले भने यो उनले चलाखी गरेको बताउँछन् । ‘जेलमा भएपछि पीडित भएँ भनेर उच्च अदालतमा अपिल गर्न सहज हुन्छ भनेर उनले रचेको चाल हो यो,’ एक कानुन व्यावसायीले भने ।
थुनछेक बहसकै क्रममा पनि उनको पक्षका वकिलले लम्बोदरले धरौटी बुझाउन नसक्ने बताएका थिए । लम्बोदरको मुद्दा अहिले सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान गरिरहेको छ । उनको सम्पत्ति र बैंक खाता रोक्का छन् । त्यही भएर धरौटी जुटाउन नसक्ने भनी उनीपक्षका कानुन व्यवसायीले तर्क गरेका थिए ।
लम्बोदर उनै व्यक्ति हुन् जसले मुद्दा मिलाउनका लागि दुई वर्षअघि अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएको थियो । सोही घुसकाण्डका कारण पाठकले आयुक्तको पद गुमाएका थिए । उक्त मुद्दामा पनि उनले आर्थिक चलखेल गरेको आरोप छ । यो मुद्दामा पनि उनले आर्थिक चलखेल गर्ने र प्रभावित पार्ने आकलन गरिएको थियो ।
तर ती अनुमानलाई चकित पार्दै लम्बोदर जेल गएपछि किन भन्ने प्रश्न उब्जिएको हो। उनले बयानका क्रममा समेत आफ्नो खातामा रकम रहेको तर एकिन नभएको बताएका थिए । यसबाहेक उनले बिभिन्न शिर्षकमा पटक पटक गरी करोडौं रुपैयाँ लिएको आरोप छ । तर उनले मासिक ५ लाख तलव र डेढ करोड सुविधा बाहेकको रकम भने संस्थाकै लागि प्रयोग भएको बताएका छन् ।
उनीसँगै पक्राउ परेका दुईजना भने धरौटी तिरेर छुटे। सोही कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ १० लाख र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा सहायक प्रशासक चोलाकान्त च्वाई ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनीहरुमाथि बिगो दाबी पनि लम्बोदरलाई भन्दा कम छ। यो मुद्दाका प्रतिवादीहरुबाट ५२ करोड ९६ लाख ८९ हजार ६ सय २९ रुपैयाँ कलेजलाई बिगोस्वरुप भराउन माग गरिएको छ। न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४७ रुपैयाँ १ पैसा कलेजलाई भराइ पाउन माग गरिएको छ ।
यसअघि मुद्दा अनुसन्धानकै क्रममा छँदा सरकारी वकिल कार्यालयले उनलाई छाड्न भनी सीआईबीलाई निर्देशन दिएको थियो । ठगी मुद्दामा ७ वर्ष कैद र ७० हजारसम्म जरिबाना तथा किर्ते मुद्दामा ७ वर्षसम्म कैद हुने व्यवस्था छ । उनको तर्फबाट धरौटी जम्मा नभए मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म लम्बोदर जेलमै बस्नु पर्नेछ ।
कलेजमा करौडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीविरुद्ध गत असोज ३० गते प्रा.डा. हरिकृष्ण श्रेष्ठले जाहेरी दिएका थिए । सोही मुद्दाका आरोपी १ जनाको मृत्यु भइसकेको छ भने ४ जना फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । ललितपुरका सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका नवराज भट्टराईले कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप छ ।