काठमाडौं । अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
हालै प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रबाट १० जना नक्कली परीक्षार्थी फेला पारिएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।
सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी गर्ने उद्देश्यले सो डिभाइस प्रयोगमा ल्याइएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निश्पक्ष र पारदर्शी रहेको पनि उपरीक्षक छतकुलीले बताए ।